
कुन्जपार्क। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित न्यू इन्भारमेन्ट इङ्लिस सेकेन्डरी स्कुल बाल समूहको आयोजनामा तिलोत्तमा-६ मा रहेको कुञ्जपार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बाल समूहका उपाध्यक्ष आशिष कोइरालाको अध्यक्षता कुञ्जपार्कका अध्यक्ष लोक पुनको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपानेको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कुञ्जपार्कका अध्यक्ष लोक पुनले वृक्षारोपण वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई सानै उमेरदेखि वातावरणप्रति जिम्मेवार बन्न र रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिन आग्रह गर्नुभयो।
बाल समूहका उपाध्यक्ष आशिष कोइरालाले सानै उमेरदेखि प्रकृतिप्रति माया र वातावरण संरक्षणको भावना विकास गराउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। विद्यालयका प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपानेले विद्यार्थीलाई किताबी ज्ञानसँगै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वबारे व्यवहारिक ज्ञान दिन आवश्यक रहेको बताउनुभयो। विद्यार्थीलाई रोपिएका बिरुवाको संरक्षण गर्न प्रेरित गर्दै उहाँले विद्यालयले शिक्षासँगै वातावरण संरक्षणसम्बन्धी गतिविधिलाई पनि प्राथमिकता दिँदै आएको बताउनुभयो।
सो अवसरमा विद्यालयका प्राचार्य मधु प्रकाश ज्ञवालीले विद्यालयले विद्यार्थीमा सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको सचेतना विकास गर्न यस्ता रचनात्मक गतिविधिलाई निरन्तरता दिने बताउनुभयो।कार्यक्रममा बोल्दै कुञ्जपार्ककी उपाध्यक्ष सङ्गीता गुरुङले वृक्षारोपणले वातावरण संरक्षणसँगै पार्कको सौन्दर्य अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। झरना स्पोर्ट्स क्लबका अध्यक्ष धनेन्द्र पौडेलले रोपिएका बिरुवाको उचित संरक्षण र हेरचाह गर्नुपर्नेमा जोड दिँदै हरियाली वातावरण निर्माणमा विद्यार्थी तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विद्यार्थी अनुषा पौडेलले स्वागत गर्दै वृक्षारोपण वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले बिरुवा रोप्नु मात्रै नभई तिनको नियमित हेरचाह र संरक्षण गर्नु पनि सबैको दायित्व भएको उल्लेख गर्नुभयो। कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक लेखनाथ भट्टराईले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्