लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका टोल विकास सञ्जाललाई कम्पोस्ट बिन वितरण

IMG

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै कुहिने फोहोरको उचित व्यवस्थापन गर्ने उद्देश्यले नगरभित्रका टोल विकास सञ्जाललाई कम्पोस्ट बिन वितरण गरेको छ ।


तिलोत्तमा नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगरभित्रका १७ वटै वडाका वडा स्तरीय टोल विकास सञ्जालका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थितिमा कम्पोस्ट बिन वितरण गरिएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन घरघरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले फोहोरलाई समस्याका रूपमा मात्र नहेरी उचित व्यवस्थापन गर्न सके उपयोगी स्रोतका रूपमा समेत प्रयोग गर्न सकिने बताउनुभयो । कम्पोस्ट बिनको प्रयोगले घरबाट निस्कने कुहिने फोहोरलाई व्यवस्थापन गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।


नगर उपप्रमुख जगेश्वर देवी चौधरीले सफा, स्वच्छ र हरित नगर निर्माणका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापनको जिम्मेवारी नगरपालिका मात्र नभई प्रत्येक घरपरिवार र समुदायको पनि भएकाले टोल विकास सञ्जालले नागरिकलाई सचेत गराउँदै अभियानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।


प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले फोहोर व्यवस्थापनलाई दिगो र व्यवस्थित बनाउन नगरपालिकाले विभिन्न प्रयास गर्दै आएको बताउनुभयो । उहाँले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गरी कम्पोस्ट मल बनाउन सके फोहोरको मात्रा घट्नुका साथै वातावरण संरक्षणमा समेत योगदान पुग्ने उल्लेख गर्नुभयो । कम्पोस्ट बिनको प्रभावकारी प्रयोग र नियमित अनुगमनमा टोल विकास सञ्जालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।


कार्यक्रमका अध्यक्ष हरि प्रसाद काफ्लेले टोल विकास सञ्जालमार्फत समुदायस्तरमा फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाबाट प्राप्त कम्पोस्ट बिनको उचित प्रयोग गर्दै कुहिने फोहोरको व्यवस्थापनलाई व्यवहारमा उतार्न टोल विकास सञ्जालका पदाधिकारीहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, रवि सेन्चुरीलगायत जनप्रतिनिधि तथा १७ वटै वडाका वडा स्तरीय टोल विकास सञ्जालका अध्यक्ष र पदाधिकारीहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले कम्पोस्ट बिन वितरण कार्यक्रमले घरायसी फोहोर व्यवस्थापनलाई सहज बनाउनुका साथै कुहिने फोहोरको उचित उपयोग, वातावरणीय स्वच्छता र समुदायस्तरमा सरसफाइको संस्कृति विकास गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्