लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्याब्सनको सभाहल उद्घाटन, प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने विद्यालयहरु सम्मानित

IMG

शंकरपुर। तिलोत्तमाको शंकरपुरमा निर्माण गरिएको प्याब्सनको सभाहल उद्घाटन, प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने विद्यालयहरु सम्मानित भएका छन्।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रूपन्देहीले तिलोत्तमा नगरपालिकाको शङ्करपुरस्थित आफ्नै कार्यालय भवनको माथिल्लो तलामा निर्माण गरेको नवनिर्मित सुविधासम्पन्न सभाहलको आज उद्घाटन गरिएको छ । 


उक्त अत्याधुनिक सभाहलको प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले उद्घाटन गर्नुभएको हो । सभाहलको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले रूपन्देही प्याब्सनले सङ्गठन सुदृढीकरण र भौतिक पूर्वाधार विकासमा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा  गर्नुभयो । निजी विद्यालय मुलुकको शैक्षिक रूपान्तरणका सारथी र सरकारका सहयोगी रहेको बताउँदै अध्यक्ष अधिकारीले राज्यले निजी विद्यालयलाई नीतिगत रुपमा कुनै पनि प्रकारको विभेद गर्न नहुने बताउनुभयो । 


सोही अवसरमा हालैको बाढीपहिरो पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराउने रूपन्देहीका विभिन्न संस्थागत विद्यालयहरूलाई सम्मान गरिएको थियो । यस्तै सभाहल निर्माणमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा प्याब्सनका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरू र संस्थागत विद्यालयका प्राचार्यहरुको सहभागिता रहेको थियो । 


कार्यक्रमका वक्ताहरुले सभाहलको निर्माणले आगामी दिनमा शैक्षिक बहस, प्राज्ञिक छलफल र शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न प्रकारका तालिम तथा कार्यशाला सञ्चालन गर्न सहज हुने बताएका थिए । विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान समेत गरिएको कार्यक्रम प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षता तथा सचिव बोधराज गौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्