लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजका विद्यार्थीले गरे वातावरणीय जनचेतनामूलक मास मार्च

IMG

बुटवल। वातावरण संरक्षण तथा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजका विद्यार्थीहरूको अगुवाइमा बुटवलमा वातावरणीय जनचेतनामूलक मास मार्च आयोजना गरिएको छ।


बिहीबार सम्पन्न कार्यक्रममा १५० जनाभन्दा बढी विद्यार्थी, रोट्रयाक्टर तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो।रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजको आयोजनामा भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षण, सार्वजनिक स्थलको सरसफाइ तथा हरियाली प्रवर्द्धनको महत्त्वबारे सर्वसाधारणलाई सचेत गराउनु रहेको थियो। मार्चमा सहभागीहरूले वातावरण संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ सहर निर्माणसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए।


बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको मार्च अस्पताल लाइन हुँदै पुनः चौराहामा पुगेर समापन गरिएको थियो। मार्चका क्रममा सहभागीहरूले सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न, सरसफाइमा ध्यान दिन तथा वातावरण संरक्षणलाई दैनिक व्यवहारमा उतार्नुपर्ने सन्देश प्रवाह गरेका थिए।कार्यक्रमलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न ट्राफिक प्रहरीले समेत सहयोग गरेको थियो। मार्चका क्रममा ट्राफिक व्यवस्थापन तथा सहभागीहरूको सुरक्षित आवागमनमा प्रहरीले सहजीकरण गरेको थियो।


कार्यक्रमको अध्यक्षता रोट्रयाक्टर निरुता खनालले गरेकी थिइन् भने सचिवको जिम्मेवारी रोट्रयाक्टर सुदीप मरासिनीले सम्हालेका थिए। कार्यक्रम संयोजक नन्दिता खत्री रहेकी थिइन्।कार्यक्रममा रोट्रयाक्ट क्लब अफ मणिग्राम, रोट्रयाक्ट क्लब अफ देवदह मेडिकल कलेज, रोट्रयाक्ट क्लब अफ तिनाउ बुटवल, रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी र रोट्रयाक्ट क्लब अफ राममरी मल्टिपल क्याम्पस सहआयोजक क्लबका रूपमा सहभागी भएका थिए।


विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागितामा सम्पन्न उक्त अभियानले वातावरण संरक्षणका क्षेत्रमा युवापुस्ताको भूमिका र सामूहिक प्रयासको महत्त्वलाई उजागर गरेको छ। स्वच्छ र हराभरा सहर निर्माणका लागि नागरिक, शैक्षिक संस्था तथा विभिन्न सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो।

कमेन्ट गर्नुहोस्