
बुटवल, असार २९ गते । रूपन्देहीका पालिकाले यो वर्ष डेङ्गु नियन्त्रणको कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्दा जोखिम बढ्ने देखिएको छ ।
हरेक वर्ष बर्खायाम सुरु हुँदै गर्दा पालिकाले डेङ्गु नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएका थिए तर यो वर्ष असार अन्तिम सातासम्म पनि यहाँ सो अभियान सुरु हुन सकेको छैन । रूपन्देहीमा पालिका र जिल्ला स्वास्थ्य कार्यालयले अलग अलग रूपमा डेङ्गु नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएका छन् । बुटवल उपमहानगरपालिकाले गत वर्ष असार २० गते डेङ्गु नियन्त्रण अभियान सुरु गरेको थियो तर यो वर्ष भने अहिलेसम्म अभियानका विषयमा जानकारी गराएको छैन । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले यो वर्षपनि डेङ्गु नियन्त्रणका लागि सहर वरिपरि खोज र नष्ट गर अभियान सुरु गर्ने बताउनुभयो । अभियान अन्तर्गत बुटवल उपमहानगरले नगरभित्रको फोहोर जम्ने स्थान, ग्यारेज, पुराना टायर, पुराना गमला, नाली र कुलो सरसफाइ गर्ने, लामखुट्टे मार्न कीटनाशक विषादी छर्किने भएको छ । रूपन्देहीको कञ्चन, लुम्बिनी सांस्कृतिक, सैनामैना, गैडहवा, देवदहलगायतका पालिकाले हरेक वर्ष डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान चलाउँदै आएका छन् ।
अभियान अन्तर्गत पालिकाले फोहोर जम्ने स्थानमा कीटनाशक विषादी छर्किने, पानी जम्ने स्थान सफाइ गर्ने, झाडी फँडानी गर्दै आएका छन् । कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गत वर्ष पनि डेङ्गु नियन्त्रणको अभियान चलाएको बताउँदै यो वर्ष पनि अभियानलाई निरन्तरता दिने बताउनुभयो ।
पालिका र जिल्ला स्वास्थ्य कार्यालयले चलाउने अभियानका कारण रूपन्देहीमा डेङ्गु सङ्क्रमण कम हुँदै गएको बताइएको छ । बर्खायामसँगै एडिस जातको लामखुट्टेको प्रजनन बढ्ने भएकाले स्वास्थ्य कार्यालय रूपन्देहीले स्थानीय तहसँगको सहकार्यमा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउने भएको छ ।
कमेन्ट गर्नुहोस्