
कोटिहवा। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाका आबद्ध स्नातक तथा सोभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेका (ग्रेजुएट) बौद्धिक शेयर सदस्यहरूको विशेष उपस्थितिमा एक दिने सुझाव संकलन गोष्ठी तथा "जनउत्थान ग्रेजुएट फोरम" अन्तरक्रिया कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक खुमाकान्त अधिकारीको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष मेखराज पुनको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष गिरिप्रसाद पुनले संस्थाको वर्तमान अवस्था, यसका गतिविधि र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले संस्थालाई अझ बढी प्रविधिमैत्री, जनमुखी र सबल बनाउन बौद्धिक वर्गको सल्लाह र सुझाव अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
उक्त महत्वपूर्ण अन्तरक्रिया कार्यक्रमको सहजीकरण सहित जना उत्थान "हामी कहाँ छौ" को प्रस्तुति रनबहादुर थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अञ्जु जैसी र स्वागत मन्तव्य काषाध्यक्ष नील प्रसाद पुनले गर्नुभएको थियो ।
विशिष्ट व्यक्तित्व र सहभागीहरूको सुझाव कार्यक्रममा बौद्धिक व्यक्तित्वहरूको तर्फबाट रुपन्देही जिल्लाका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या भण्डारी र स्थानीय समाजसेवी दिनेश पौडयालले शुभकामना मन्तव्य राख्नुभएको थियो। उहाँहरूले जनउत्थान साकोसले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै संस्थामा जोडिएका शिक्षित र दिग्गज वर्गको ज्ञानलाई संस्थाको रणनीतिक विकासमा उपयोग गरिनु प्रशंसनीय कार्य भएको बताउनुभयो । अन्तरक्रियाका क्रममा उपस्थित सहभागीहरू मध्ये करिब १५-१६ जना ग्रेजुएट शेयर सदस्यहरूले संस्थाको सेवा प्रवाह, लगानीका क्षेत्र, नयाँ प्रविधि र आगामी कार्यदिशाका बारेमा महत्वपूर्ण एवं रचनात्मक सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
आगामी रणनीतिमा सुझावहरू समेटिने करिब ७३ जना बौद्धिक शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा आएका अमूल्य सुझावहरूलाई आगामी सञ्चालक समितिको बैठकमा विस्तृत रूपमा छलफल गरिने संस्थाले जनाएको छ । प्राप्त सुझावहरूका आधारमा संस्थाको आगामी ठोस रणनीति र योजनाहरू तय गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । कार्यक्रमको अन्त्यमा, व्यस्त समयका बावजुद उपस्थित भई संस्थालाई माया गरेर अमूल्य र मार्गदर्शक सुझावहरू दिनुहुने सम्पूर्ण दिग्गज एवं बौद्धिक शेयर सदस्य महानुभावहरूमा जनउत्थान परिवारले हार्दिक बधाई, शुभकामना तथा कृतज्ञता सहित धन्यवाद ज्ञापन गरेको छ ।
कमेन्ट गर्नुहोस्