लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मुख्यमन्त्री आचार्य: विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकता

IMG

लुम्बिनी, वैशाख, २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचि अनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।


रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–२, रूपन्देहीस्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता विद्यार्थीलाई आत्मनिर्भर र उद्यमशील बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।


मुख्यमन्त्री आचार्यले राज्यले फरक क्षमता भएका नागरिकका लागि अवसर सृजना गरिरहेको बताउनुभयो । त्यस्ता विद्यार्थीहरूको पठनपाठन र सिप विकासका विषयमा नजिकबाट बुझ्न पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।


विसं २०३२ देखि सुनाइसम्बन्धी समस्या भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको सो विद्यालयले विशेष शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । 


विद्यालयले नेपालसँगै छिमेकी मुलुक भारतका विद्यार्थीलाई समेत समेट्दै समावेशी शिक्षा प्रदान गर्दै आएको छ । आवासीय सुविधा, पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको अध्ययन तथा सिपमूलक तालिममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गरेको विद्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्