लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्कीनिङ्ग शुरु

IMG

काठमाडौँ, चैत १६ गते ।काठमाडौँ महानगरपालिकाको सहयोगमा वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कीनिङ्ग कार्यक्रम शुरु भएको छ ।


सोमबार एक कार्यक्रमबीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।


कार्यवाहक प्रमुख डङ्गोलले विशेष गरी महिलामा सर्भाइकल र स्तन क्यान्सरको जोखिम उच्च देखिएकाले यस प्रकारको स्क्रिनिङ कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो ।


क्यान्सरलाई समयमै पहिचान गर्नसके उपचार सम्भव हुने उहाँको भनाइ छ । उहाँले पहिचानमा ढिलाइ हुँदा रोग तेस्रो वा चौथो चरणमा पुग्ने जोखिम रहने बताउनुभयो ।


धेरै महिलामा सचेतनाको अभाव र केहीले भने डर र लाजको कारणले परीक्षण नगराउने प्रवृत्ति रहेको उहाँको भनाइ छ । महिलाहरूले परिवारको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो स्वास्थ्यलाई पछाडि पार्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई तोड्न आग्रह गर्नुभयो । महिला स्वस्थ भएमा मात्रै पूरा परिवार स्वस्थ हुने उहाँको भनाइ छ ।


उहाँले समयमै स्वास्थ्य परीक्षण गराउन सबैलाई आग्रह गर्नुभयो । उहाँकाअनुसार महानगरपालिकाभित्र रहेका प्रत्येक वडाको स्वास्थ्य प्रवर्द्घन केन्द्रमार्फत नाम दर्ता गर्न सकिनेछ ।


सेवाग्राहीलाई ‘क्यू सिस्टम’अनुसार समय निर्धारण गरिने भएकाले तोकिएको समयमा पुग्दा लामो समय कुर्नु नपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।


उहाँले कार्यक्रमको सुरुवातमै उल्लेखनीय सहभागिता देखिएकोले आगामी दिनहरूमा सेवाग्राहीको सङ्ख्या क्रमशः बढ्दै जाने बताउनु भयो । पहिलो दिनमा १३६ जनाको स्क्रिनिङ गरिएको छ ।


उहाँले भन्नुभयो, ‘विशेष गरी धेरै महिला दिदीबहिनीमा सर्भाइकल र स्तन क्यान्सर धेरै देखिने गरेको छ । हरेक दिन संसारभर चार जना सर्भाइकल क्यान्सरको कारणले मृत्यु हुने गरेको छ । क्यान्सर मृत्यु भइहाल्ने रोग होइन, यसको उपचार गर्न सकिन्छ भन्ने बुझाउन पनि जरुरी छ । यदि समयमा नै यसको पत्ता लगाउन सकियो भने उपचार हुन्छ, त्यसको लागी समयमा नै परीक्षण गर्नुपर्छ । कतिपय समयमा असिम्टोम्याटिक सिम्टोम नै देखिरहेको हुँदैन र जुनबेला सिम्टोम देख्छ, त्यो बेला थर्ड, फोर्थ चरणमा पुगिसकेको पनि हामीले देखेका छौँ, त्यसैले ज्यान गइरहेको छ । कति सचेत नभएको कारणले नै परीक्षण गराउनुहुन्न । कति जनालाई डर पनि लाग्छ, कति लाजले पनि परीक्षण गरिराख्नुभएको छैन । यहीबाट म सबैलाई अनुरोध गर्छु अब यो लाज, डर र अचेत सबै कुरालाई तोड्ने समय हो ।महिला दिदिबहिनीले परिवारका अरु सदस्यलाई प्राथमिकता दिनुहुन्छ, आफूलाई अन्तिममा राख्नुहुन्छ । तपाई स्वस्थ हुनुभयो भने सिंगो परिवार स्वस्थ हुन्छ । आफ्नो स्वास्थ्य परीक्षण गर्न आजै अगाडी बढ्नुहोला ।’


उहाँले गतवर्ष वीर अस्पतालसँग गरिएको सहकार्य सफल भएको उल्लेख गर्दै यस वर्ष कार्यक्रम अझ व्यवस्थित र व्यापक बनाइने बताउनुभयो । उहाँकाअनुसार यो कार्यक्रम आगामी वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

कमेन्ट गर्नुहोस्