लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्रिस्टल नलेज एकेडेमीमा दुई दिने निःशुल्क सुगर तथा मृगौला परीक्षण सम्पन्न

IMG

शारदा शाही, मंगलापुर। विश्व मधुमेह दिवसको अवसर पारेर क्रिस्टल नलेज एकेडेमी, तिलोत्तमा–९ मंगलापुरको आयोजनामा र केन डायबिटिज एण्ड थाइराइड सेन्टर, तिलोत्तमा–२ शङ्करनगरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क सुगर तथा मृगौला परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको थियो।


कार्यक्रममा विद्यालयका विद्यार्थीका अभिभावक, शिक्षक, स्थानीय सर्वसाधारण गरी करिब ४५० जनाले परीक्षण गराएका थिए। तीमध्ये ६ जनामा मृगौला रोगका लक्षण पाइएको र ५० वर्षमाथिका ९ जनामा मधुमेह (सुगर) को समस्या देखिएको चिकित्सक टोलीले जानकारी दिएको छ।केन डायबिटिज एण्ड थाइराइड सेन्टरका व्यवस्थापक दिनेश कक्षपतीले नेपालमा मधुमेह र मृगौला रोगका बिरामी दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको बताउनुभयो। उहाँका अनुसार नेपालीहरू स्वास्थ्यप्रति सजग नहुने, अनियमित जीवनशैली अपनाउने, असन्तुलित खानपान गर्ने र औषधि सेवनमा लापरवाही देखाउने कारणले यस्ता समस्या तीव्र रूपमा बढ्दै गएका छन्। उहाँले उच्च रक्तचाप (प्रेसर), बढ्दो सुगर र स्तनपान राम्रोसँग गर्न नपाएका बालबालिकामा समेत मृगौला सम्बन्धी समस्या देखिने गरेको बताउनुभयो। साथै, मृगौला उपचार नेपालमै सहज र सम्भव रहेको पनि उहाँले जोड दिनुभयो।


कार्यक्रममा विद्यालयका प्रिन्सिपल खेमेन्द्र रानाले सामाजिक उत्तरदायित्व अन्तर्गत क्रिस्टल नलेज एकेडेमीले प्रत्येक वर्ष विभिन्न स्वास्थ्य सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। उहाँले विद्यार्थी मात्र नभई अभिभावक र समुदायको स्वास्थ्य सचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।परीक्षण कार्यक्रममा स्वास्थ्यकर्मीहरूको टोलीले रक्तचाप, रक्तमा ग्लूकोजको मात्रा, मृगौला कार्य परीक्षण लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू गरेको थियो। सहभागीहरूले निःशुल्क स्वास्थ्य परामर्श पनि प्राप्त गरेका थिए।


कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो स्वास्थ्य परीक्षणले आफूहरूलाई समयमै रोग पहिचान गर्न र सचेत रहन मद्दत पुगेको भन्दै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरे।स्वास्थ्य परीक्षण कार्यक्रमले समुदायमा मधुमेह र मृगौला रोगप्रति जनचेतना अभिवृद्धि गर्न सघाउने विश्वास आयोजकले व्यक्त गरेको छ।


कमेन्ट गर्नुहोस्