लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकामा ७१ जना सिकलसेल एनिमियाका बिरामी, सरकारी अस्पतालहरुमा निःशुल्क

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा ७१ जना सिकलसेल एनिमियाका बिरामी रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ । स्वास्थ्य शाखाले बुधबार आयोजना गरेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धी सचेतना अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । थारु समुदायमा बढी देखिने सिकलसेल एनिमियाको परीक्षण सरकारी अस्पतालहरुमा निःशुल्क हुने गर्दछ ।


रुपन्देहीमा रहेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा र जनस्वास्थ्य प्रयोगशाला, बुटवलमा सिकलसेल एनिमियाको निःशुल्क परीक्षण हुने स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताउनुभयो । उहाँले जोखिममा रहेका व्यक्तिहरुलाई समयमैं सिकलसेल एनिमियाको परीक्षण गर्न आग्रह समेत गर्नुभयो ।


अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यलयका बरिष्ठ ल्याब प्राबिधिक खिमलाल पाण्डेले सिकलसेल एनिमियाका बिषयमा अझैं पनि जानकारी नहुँदा ग्रामीण समुदायका बिरामीहरु उपचारको पहुँचमा आउन नसकेको बताउनुभयो । उहाँले पहिचान भएका बिरामीहरुलाई स्वास्थ्य बीमामा आवद्ध गराएर निःशुल्क उपचारको व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । उहाँले श्रीमान् श्रीमती दुवै सिकलसेलका बिरामी रोगी भए उनीहरुबाट जन्मिने बच्चा पनि त्यसबाट प्रभावित हुने भएकोले विवाह गर्दा उच्च यान दिइनुपर्ने बताउनुभयो । उहाँले नेपालमा ३ लाख  सिकलसेलका बिरामी रहेको जानकारी समेत गराउनुभयो ।


तिलोत्तमा नगरपालिकामा सबैभन्दा बढी वडा नं. १७ मा सिकलसेल एनिमियाका बिरामीहरु फेला परेको स्वास्थ्य शाखाकी नर्सिङ्ग अधिकृत लक्ष्मी आचार्यले जानकारी दिनुभयो । सिकलसेल एनिमियाको उपचारको लागि नेपाल सरकारले १ लाख, प्रदेश सरकारले २ लाख र नियमित औषधीका लागि मासिक ५ हजार रुपैंयाँ बिरामीलाई उपलब्ध गराउने व्यवस्था छ ।  

कमेन्ट गर्नुहोस्