लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मी अस्पताल भवन निर्माण सुस्त

IMG

तिलोत्तमा सिटी, २०८१ चैत १९ गते। गुल्मी अस्पतालको भवन निर्माण कार्य दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष हुँदासमेत सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण कार्य सक्नुपर्ने सम्झौता भए पनि करिब चार वर्ष बित्न लाग्दा ८४ प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ । 


पुनर्निर्माण प्राधिकरण र स्वच्छन्द–बानियाँ जेभी हेटौँडा मकवानपुरबिच २०७८ साल असार १८ गते सम्झौता भई २०८० साल असार १७ गतेसम्म २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा सम्पन्न गर्ने उल्लेख थियो । सुविधासम्पन्न साढे पाँच तलाको भवन २०८२ असार मसान्तसम्म सक्ने गरी समयावधि थप भएकाले सोही समय अवधिमै कार्य सम्पन्न गर्ने गरी लागेको निर्माण व्यवसायीको भनाइ छ । 


भवनको सबै तलाको ढलान सकेर अहिले फिनिसिङ र वायरिङलगायतका काम भइरहेका छन् । चिसो मौसम, पानी परिरहने, सुरुमा कोभिड लहर, निर्वाचनको समयमा डन्डीको उच्च मूल्यवृद्धि र केही समय गिट्टी बालुवाको अभावका कारण समयमै काम सम्पन्न गर्न नसकिएको निर्माण व्यवसायीका इन्जिनियर आदित्य नारायण ठाकुरले जानकारी दिनुभयो । अबको दुई महिनाभित्रमा भवन निर्माणको कार्य गर्ने गरी आफूहरू लागेको उहाँको दाबी छ । 


गुल्मी अस्पतालमा रहेका भवन साना र सेवाग्राहीमैत्री नहुँदा समस्या हुँदै आएको छ । भवनलाई जति सक्यो छिटो सम्पन्न गर्न नियमित खबरदारी गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ । 


निर्माणाधीन भवनको गुल्मीबाट निर्वाचित सङ्घीय र प्रदेशका सांसदले अनुगमन गर्दै आउनुभएको छ । गुल्मी अस्पतालको भवन छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई यहाँका सरोकारवालाले समेत आग्रह गरेका छन् । गुल्मी अस्पताल तम्घास २०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भएको थियो । भौतिक संरचनाको अभावमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।   

कमेन्ट गर्नुहोस्