
तिलोत्तमा। रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको परीक्षा अनिश्चित बनेको छ । भेटेरीनरी प्राध्यापाकहरुको पेन डाउन र विद्यार्थीहरुको तालाबन्दीको कारण परीक्षा नै अनिश्चित भएको छ । पशु विज्ञान अध्ययन शंकायलाई कृषि शंकाय सरह मूलधारमा समेट्नु पर्ने लगायतका माग राखी पक्लिहवा क्याम्पसका भेटेरीनरी शंकायका प्राध्यापकहरुले विद्यार्थीलाई दिनुपर्ने आन्तरिक मूल्यांकनको नम्बर नै नदिए पछि परीक्षा स्थगित भएको हो । विवाद बढ्दै जाँदा विद्यार्थीहरुले परीक्षा गरिनुुपर्ने माग गर्दै क्याम्पसमा तालबन्दी गरेका छन् । यसले क्याम्पसका शैक्षिक गतिविधिसँगै परीक्षा अनिश्चयतर्फ धकेलिएको छ ।
प्राध्यापकहरुले भेटेरीनरी अध्ययनलाई पनि कृषिसरह मान्यता दिएर विश्वविद्यालयका पदाधिकारी र विशेष समितिमा नियुक्ति गरिनुपर्ने माग राखेका छन् । क्याम्पसमा कार्यरत १७ जना प्राध्यापकले गत माघ ९ गतेदेखि ‘पेन डाउन’ गरेपछि क्याम्पसका नियमित परीक्षा र पठनपाठन ठप्प भएको क्याम्पस प्रमुख जन्मजय गैह्रेले जानकारी दिए ।भेटेरीनरी शंकायका प्राध्यापकहरुले विद्यार्थीलाई दिनुपर्ने आन्तरिक मूल्यांकनको नम्बर नै नदिए पछि फागुन ८ मा सूचना जारी गरेर परीक्षा स्थगित गरिएको थियो । विवाद बढ्दै जाँदा भेटेरीनरी अध्ययनरत विद्यार्थीहरुले कृषि शंकायको परीक्षा रोक्न माग गर्दै परीक्षा शाखामा तालाबन्दी गरेपछि कृषितर्फको परीक्षा पनि स्थगित भएको क्याम्पस प्रशासनले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले गत माघ ११ गते सूचना जारी गरेर फागुन ९ गतेबाट भेटेरीनरी र १३ गतेदेखि कृषि संकायका परीक्षा सञ्चालन गर्नेगरि तालीका सार्वजनिक गरेका थियो । यसपछि क्याम्पस प्रशासनले माघ १४ गते सम्बन्धित विषयका प्राध्यापकसित विद्यार्थीले पाउनुपर्ने आन्तरिक मूल्यांकनको नम्बर माग गरेको थियो । कृषितर्फका प्राध्यापकले आन्तरिक मूल्यांकनको नम्बर तत्काल पठाए पनि पेन डाउन गरेको जनाउँदै भेटेरीनरीतर्फका प्राध्यापकले पठाएनन् ।पटक–पटक छलफल गर्दा पनि भेटेरीनरीतर्फका प्राध्यापकले आन्तरिक मूल्यांकनको नम्बर क्यापस प्रशासनलाई बुझाउन नमानेको क्याम्पस प्रमुख गैह्रे बताउँछन् । क्याम्पस प्रमुखको कार्यकक्षामा तालाबन्दीपछि टाँसिएको बिरोधपत्रमा विभिन्न विद्यार्थी संगठनले शिक्षक, क्याम्पस प्रशासन र डीन कार्यालयले विद्यार्थीको हित विपरित अडान लिँदै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गरेर भयंकर लापरबाही गरेको उल्लेख छ ।
परीक्षा स्थगित हुँदा भेटेनरी संकायतर्फ स्नातक दोस्रो, चौथो र नवौं सेमेस्टरका विद्यार्थीको भविष्य अनिश्चित भएको छ । यसको प्रभाव कृषि शंकाय र पठनपाठमा समेत परेको छ । प्राध्यापकहरुकै पेन डाउन भएकाले आन्तरिक मूल्यांकनमा नम्बर काटिने डरले विद्यार्थीहरु खुलेर बोल्दैनन् ।परीक्षा र पठनपाठन ठप्प हुँदा क्याम्पस सुनसान छ । प्रहरी खटाएर क्याम्पसको सुरक्षा दिइएको छ । परीक्षामा भएको ढिलाईले क्याम्पसमा अध्ययन गर्नुपर्ने अवधि लम्बिने र भेटेरीनरी काउन्सिलको परीक्षाबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै विद्यार्थी चिन्तित बनेका छन् ।
कमेन्ट गर्नुहोस्