लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एसईईमा उत्कृष्ट जीपीए ल्याउनेलाई ५० हजार पुरस्कार

tillotmacitynews - 2024 Jul 08 04:38 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २४ गते । एसईईमा रोल्पा जिल्लाबाट सबैभन्दा बढी जीपीए लिएर प्रथम भएका विद्यार्थीलाई युवाहरुको पहलमा ५० हजार ५ नगद पुरस्कार प्रदान गरिएको छ । २०८० को एसइइमा ३.८० जीपीए पाएर जिल्लामै उत्कृष्ट खुंग्रीस्थित ज्ञान मन्दिर विद्या गृहका विद्यार्थी प्रतीक भण्डारी पुरस्कृत भएका हुन् । 


जिल्लामा सामाजिक एवं शैक्षिक अभियान चलाउँदै आएको सत्प्रयास समूहका सदस्यहरुले विद्यार्थी भण्डारीलाई पुरस्कृत र सम्मानित गरेका हुन् । प्यूठानस्थित सारी गाउँ निवासी पुरस्कृत विद्यार्थी भण्डारीले मेहनतले जिल्ला प्रथम भएको र भविष्यमा पनि सफलता पाउने विश्वास दिलाए । ‘मेहनतले प्राप्त भएको एसइइको नतिजाबाट म सन्तुष्ट छु । भविष्यमा पनि म मेहनत गर्नेछु,’ उनले भने ।


सत्प्रयास अभियानकर्मी पत्रकार खेम बुढाले जिल्लामा सामाजिक र शैक्षिक क्षेत्रमा नयाँ कार्य गरौं भन्ने साथीहरुको सल्लाहबाट यो वर्षदेखि जिल्ला प्रथम हुने विद्यार्थीलाई नगद र सम्मान प्रदान गर्ने अभियान थालेको बताए । उनले सत्प्रयास अभियानमा आवद्ध भएका साथीहरुले रकम जम्मा गरेर पुरस्कार तयार पारेको बताए । यो अभियानका लागि २६ जनाले व्यक्तिगत रुपमा रकम जम्मा गरेका थिए । ज्ञान मन्दिर विद्या गृहका प्रिन्सिपल शान्तराज विष्टले कडा मेहनतले संचालन गर्दै आएको विद्यालयलाई जिल्लामै उत्कृष्ट नतिजा दिने बनाउन सकिएकोमा खुशीको अनुभव सुनाए । जिल्लामा उत्कृष्ट नतिजा ल्याउने १३ विद्यार्थीमध्ये चार जना उक्त विद्यालयका विद्यार्थी छन् ।


जिल्लाभर खस्कँदो नतिजा


रोल्पास्थित शिक्षा समन्वय इकाई कार्यालयले अघिल्लो वर्षको तुलनामा २०८० को एसइइको नतिजा संख्यात्मक रुपमा खस्किएको जनाएको छ । समन्वय प्रमुख कृष्णचन्द पोखरेलले जिल्लाभर २० प्रतिशत विद्यार्थीले मात्रै एसइइ उत्तीर्ण गरेको बताए । तर गुणात्मक रुपमा शिक्षाको अवस्था सुधार भएको उनले बताए । जिल्लामा ९३ वटा विद्यालय एसइइमा सहभागी भएकामा ८ वटा विद्यालयको नतिजा शून्य छ । विद्यालयको अवस्था सुधार गर्न र एसईईको नतिजाको पुनः छलफल गर्न सबै स्थानीय तहका जनप्रतिनिधि र अधिकारीबीच बहस र छलफल संचालन गर्ने अभियान थाल्ने उनले बताए । यो पटक ६ वटा विद्यालयले मात्रै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।


कमेन्ट गर्नुहोस्