लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भुक्तानी नपाएको भन्दै ठेकेदारले लगायो गुल्मीदरबार अस्पतालमा ताला

tillotmacitynews - 2024 May 15 12:29 PM
IMG

तिलोत्तमा सिटी,२०८१ जेठ २ गते //  ठेकेदार कम्पनीले पूरा भुक्तानी नपाएको भन्दै भवनमा ताल्चा लगाएपछि गुल्मीको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल अलपत्र बनेको छ । ०८० असारमै निर्माण पूरा भइसकेको उक्त भवनमा ताल्चा लाग्दा एक वर्षसम्म प्रयोगमा आउन सकेको छैन । १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँमा अर्जुन बिल्डर्स प्रालि तम्घासले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले अझै २ करोड ७ लाख रकम अझै पाएका छैनन् ।


गुल्मीदरबार गाउँपालिका–३, धुरेलडाँडामा बनेको उक्त अस्पतालको भवन प्रयोगमा नआउँदै केही ठाउँमा भत्किन र घाँसले घेर्न थालेको छ । लामो समयसम्म अस्पताल भवन सञ्चालनमा नआउनु दुखद पक्ष रहेको स्थानीय थम्मनबहादुर झार्की मगरले बताए । मगरले घर छेउमा अस्पताल बन्ला सुविधा लिन पाइएला भनेर जग्गा उपलब्ध गराए पनि सञ्चालनमा आउन नसक्दा दुख लागेको बताए । सम्बन्धित पक्षले यसबारे ध्यान दिएर भवन सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।


गुल्मीदरबार गाउँपालिकाका योजना अधिकृत टंक पन्थीले भवनको रकम निकासा गर्नका संघीय मन्त्रालयलाई पालिकाबाट पटकपटक जानकारी गराइएको बताए । तर त्यसको सुनुवाइ नहुँदा भवन अलपत्र बन्न पुगेको उनको भनाए छ । पन्थीले चिकित्सकलगायत स्वास्थ्यकर्मी राख्न आन्तरिक स्रोत नहुँदा अस्पताल चलाउन नसकिएको बताए । नेपाल सरकारले २०७७ मंसिर १५ गते देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । गुल्मीका अन्य पालिकामा १५ शय्याका र सदरमुकाम तम्घासमा पनि ५५ शय्याको अत्याधुनिक अस्पता भवन निर्माण भइरहेको छ ।


गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । जसमध्ये २ वटा वडामा सुरक्षित गर्वपतन सेवा उपलब्ध छ । गाउँपालिकामा हाल स्वास्थ्य चौकीबाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता छ ।


गाउँपालिकाले यस आर्थिक वर्षमा पालिकामै १५ शय्याको अस्पताललाई सञ्चालनमा ल्याउने भनेको थियो । त्यसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा एमबीबीएस डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने जनाएको थियो । गाउँपालिकामा एमबीबीएस डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको हट्ने गाउँपालिकाको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्