
तिलोत्तमा,२०८१ बैशाख २८ गते। प्रथम प्रदेशस्तरीय जुनियर रेडक्रस जिल्ला संयोजकहरुको गोष्ठी सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी लुम्विनी प्रदेशको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको समन्वयमा शुक्रबार तिलोत्तमामा १२ वटै जिल्लाका संयोजकहरु विच भएको कार्यक्रमको तिलोत्तमा नगरप्रमुख रामकृष्ण खांडले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनको क्रममा प्रमुख खांडले तिलोत्तमा नगरपालिकाले मानवीय विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै रेडक्रसले गर्ने हरेक मानवीय कर्ममा नगरपनि समन्वय गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष कृष्ण पंगेनीले नेपालमै नौलो अभ्यास थालेको जिकिर गर्दै विद्यालयस्तरमा कसरी रेडक्रसलाई विस्तार गर्ने र जुनियर युवाका माध्यमबाट समुदाय स्तरमा कसरी पुर्याउन सकिन्छ भन्ने उद्धेश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहांले १२ वटा जिल्लामै जुनियर युवालाई शसक्त बनाउन सहयोग पुग्ने समेत विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाका संयोजक टेकबहादुर थापाले सवै जिल्लामा भएका उपसमितिका प्रगति समिक्षा र आगामी दिनमा जुनियर रेडक्रस सर्कललाई कसरी प्रभावकारी ढंगबाट संचालन गर्न सक्छौ भन्ने विषयमा नीतिगत निर्णय गर्ने र तिलोत्तमा घोषणा समेत गर्ने निर्णय भएको बताउनुभयो । उहांले आपतकालिन क्षणमा मानव निर्मित समस्यालाई न्युनिकरण गर्ने र प्राकृतिक प्रकोपलाई ब्यवस्थापन गर्र्ने विषयमा वर्तृमानका साझेदार युवामाझ बुझाउन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्न सक्नेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी प्रदेशका कोषाध्यक्ष तथा जुनियर रेडक्रसका प्रदेश संयोजक ज्ञानहरि रिजालले आजका बालबालिकामा नैतिक चेतना हराउदैं गएको अवस्थामा यो विकृतिलाई हटाउंदै जहां विद्यालय त्यहां जुनियर युवा मानविय भाव भन्ने भावना जागृत गर्ने वातावरण निर्माण गर्न यो संस्थाले काम अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा ४का अध्यक्ष हरि क्षत्री,३ का अध्यक्ष कल्याण पौडेल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति दिपक क्षेत्री न्यौपाने,उपसभापति मित्रलाल न्यौपाने, उप–मन्त्री अर्जुनराज उपाध्याय, लगायतले प्रदेशलाई मानवताको प्रदेश बनाउने गरी कार्यक्रमहरुलाई अगाडि बढाएकोमा जोड दिनुभयो । उहांहरुले आजको अवस्थामा वालबालिकालाई विद्यालय स्तरबाटै मानवीय विकासमा कसरी जोड्न सकिन्छ तथा रेडक्रसले खेल्न सक्ने भुमिकाको विषयमा चर्चा गर्नुभएको छ । कार्यक्रम शनीबार तिलोत्तमा घोषणापत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रममा हरियाली तिलोत्तमा अभियानको प्रशंसा गर्दै नगरपालिकालाई अफ्रिकन टुलिप नामक वृक्ष हस्तान्तरण समेत गरिएको छ ।
कमेन्ट गर्नुहोस्