
तिलोत्तमा सिटी,२०८० फागुन २१ गते । गुल्मीको रेसुङ्गा नगरपालिकामा बालबालिकाहरुले दिवा खाजाको रकम थप गर्न माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले बालमैत्री स्थानीय शासनका लागि तम्घासमा आयोजना गरेको तीन दिवसीय प्रशिक्षणमा सहभागी बालबालिकाले विद्यालयमा प्रदान गरिने दिवा खाजाको रकम थप गरी बढाउनुपर्ने माग राखेका हुन् । सरकारले अहिले दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपियाँ उपलब्ध गराउँदै आएको छ । अहिलेको समयअनुसार यो रकममा थप गरी २५ पुर्याउनुपर्ने नगरस्तरीय बाल सञ्जाल रेसुङ्गा नगरपालिकाका अध्यक्ष सुजन पाण्डेले माग राख्नुभयो ।
पाण्डेले सदरमुकाम तम्घासमा सवारी साधनहरुको तीव्र गतिका कारण बालबालिकालाई विद्यालय आवतजावतमा सडकमा जोखिम सिर्जना भएको भन्दै भुस्याहा कुकुर आतङ्कबाट बढी बालबालिका टोकाइ र जोखिममा परेकोले यसको नियन्त्रणका लागि माग गर्नुभयो । त्यसअवसरमा उपप्रमुख अमृतादेवी कुँवर र सामाजिक विकास समिति संयोजक लीलाधर आचार्यले बालबालिकाहरुले उठाएको माग अत्यन्तै जायज र सान्दर्भिक भएकाले सम्बन्धित निकायसँग समयमा समस्या समाधानका लागि पहल गरिने बताउनुभयो । सहभागीहरु बालबालिकालाई आफ्नो गाउँ–समाजमा कोही पनि बालबाबालिका परिवारको आर्थिक, सामाजिकलगायतका कारण अध्ययन गर्नबाट वञ्चित भएको थाहा पाए आफूहरुलाई जानकारी गराउनसमेत आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, शिक्षा शाखा प्रमुख पीताम्बर पन्थी, वडाध्यक्ष निरञ्जन काउछालगायतले पनि बालअधिकारका घटना भए सम्बन्धित वडा कार्यालयलगायतका स्थानमा जानकारी गराउनुपर्नेमा जोड दिंदै कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो ।रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्री स्थानीय शासनका लागि नगरस्तरीय बालसञ्जाल गठन तथा उनीहरुलाई तीन दिनसम्म प्रशिक्षण प्रदान गरिएको शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाभित्र रहेका २२ वटा विद्यालयमा गठित बालक्लबका पदाधिकारीको सहभागितामा नगरस्तरीय बाल सञ्जाल गठन गरिएको उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्