
तिलोत्तमा सिटी २०८० फागुन ११ गते । एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान सम्पत्तिलाई सन्तान जन्माउन सहयोग गर्ने आईयुआई सेवा पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा सुरु गरेको जनाएको छ । कृत्रिम गर्भधारणको पहिलो प्रयासको रूपमा पुरुषबाट निकालिएको वीर्यलाई प्रविधिको माध्यमद्वारा राम्रोसँग ल्याबमा तयार पारी दक्ष तथा अनुभवी स्त्रीरोग विशेषज्ञले उपयुक्त समयमा महिलाको गर्भाशयमा राख्ने प्रविधिलाई आईयुआई भनिन्छ ।एचसिआरसी अस्पताल नेपालगन्जका वरिष्ठ महिला तथा प्रसूति विशेषज्ञ डा. मञ्जु बि सी शाहले सो कुराको जानकारी गराउँदै अस्पतालमा रहेको दक्ष चिकित्सकको टिमले सो सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले एक वर्षभित्र अत्याधुनिक आईभिएफ ल्याबको स्थापना गर्ने लक्ष्यसहित आईयुआई सेवा सुरु गरिएको बताउनुभयो ।
वरिष्ठ महिला तथा प्रसूति विशेषज्ञ डा. शाहले भन्नुभयो–‘महिलाले गर्भधारण गर्ने कुरालाई सामान्य रूपमा हेर्दा सरल जस्तो देखिए पनि सबै महिलाको लागि सरल र सहज नहुन सक्छ । दम्पतीमा हुने विभिन्न समस्याको कारणले गर्दा सन्तान उत्पादनमा बाधा पुगेको हुन्छ । हाल नेपालमा समेत निःसन्तान, बाँझोपनको समस्या भित्र भित्र गोप्य रुपमा धेरै रहेको देखिएको छ, सन्तान प्राप्त कोलागि दम्पतीले सही जानकारी नपाउँदा धेरै दुःख र पैसा खर्च गर्न बाध्य रहेको अवस्था छ ।’
सन्तान प्राप्तिका लागि अत्याधुनिक प्रविधिको विकास भए पनि परम्परागत झारफुकमा विश्वासलाई प्राथमिकता र प्रजननका बारेमा खुलेर कुरा गर्न समस्या रहेको परिवेशमा प्रविधिलाई समयमै प्रयोगमा ल्याउन नसकेर धेरैले दुःख पाउने गरेको चिकित्सकको भनाई छ । उमेर बडेसँगै लगभग ४० वर्ष माथि पुगेपछि मात्र प्रविधि छ रे भनेर दम्पतीहरू बुझ्नलाई अस्पताल आउने गरेको पनि डा. शाहले बताउनुभयो । उहाँले अहिले फेसबुक, टिकटक, युट्युबसँगै सामाजिक सञ्जालको प्रयोग अत्यधिक रुपमा बढेकोले अनेकौँ किसिमका सही र गलत सूचना र जानकारी बारे जताततै बहस र कुराकानी हुन थालेको पनि जानकारी पाउन सहज हुँदै गएको बताउनुभयो ।
पछिल्लो समयमा गर्भधारण र बाँझोपनसम्बन्धी समस्या लिएर अस्पताल पुग्नेहरू बढ्दै गएकोले दम्पतीको स्वास्थ्य चेकजाँच अनुसार समाधानको लागि आईयुआई र आईभिएफ सेवा अति आवश्यक रहेको एचसिआरसी अस्पताल नेपालगन्जले जनाएको छ ।
कमेन्ट गर्नुहोस्