लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सकको पहिलो सफलता

tillotmacitynews - 2024 Feb 01 03:45 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ १८ गते । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले पहिलो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले गरेको प्रत्यारोपण पहिलो पटक सफल भएको हो । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. भण्डारीका अनुसार नेपाली चिकित्सकको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो । ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषलाई बिहीबार डिस्चार्ज गरिदै छ भने महिला १० दिन अगाडि नै डिस्चार्ज भइसकेकी छिन् ।


डा. भण्डारीको नेतृत्वमा रहेको टोलीले विदेशी चिकित्सकको सहयोगबिना ११ घण्टा लगाएर प्रत्यारोपण गरेको थियो । नेपालमा २०७३ सालदेखि नै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञ चिकित्सकको सहयोगमा भइरहेको थियो । तर यसपटक भने नेपाली चिकित्सकको नेतृत्वमा भएको हो ।‘यो हाम्रो लागि माइलस्टोन हो । यसभन्दा अगाडि भारतमा विज्ञ बोलाएर प्रत्यारोपण गरेको थियौं,’ डा. भण्डारीले अनलाइनखबरसँग भने, ‘ कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पहिलो पाइलाका रुपमा लिएका छौं ।’


त्रिवि शिक्षण अस्पतालले हालसम्म ११ जनाको कलेजो प्रत्यारोपण गरेको छ । तर सातौं केसमा नेपाली चिकित्सकको नेतृत्वमा कलेजो प्रत्यारोपण हुँदा सफलता पाउन सकेको थिएन । ‘त्यसबेला कोरोना महामारी थियो । सातौं प्रत्यारोपण केसमा भने कोरोना संक्रमणको कारणले बिरामीको तेस्रो हप्तामा मृत्यु भयो,’ डा. भण्डारीले भने ।


नेपालमा पहिलो पटक २०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दक्षिण कोरियाबाट आएका प्रत्यारोपण शल्य चिकित्सकसहित टिमले प्रत्यारोपण गरेका थिए । त्रिवि शिक्षण अस्पतालमा भने डा. भण्डारी अष्ट्रेलियाबाट कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आएपछि २०७६ जेठ १७ मा पहिलो कलेजो प्रत्यारोपण भएको थियो । २०७७ फागुनमा नेपालमै ११ महिनाको बालकमा पनि कलेजो प्रत्यारोपण भइसकेको छ ।


यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको डा. भण्डारीले बताए । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज र चितवन मेडिकल कलेज, किष्ट मेडिकल कलेजले अनुमति पाएपनि गति भने लिन सकेका छैनन् ।


अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ । प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा पीडा बढ्ने विज्ञ बताउँछन् ।शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारण पनि सेवा विस्तारमा बाधक बनेको विज्ञ बताउँछन् ।


त्यसबाहेक कलेजो लिने–दिने व्यक्तिको रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट, कानुनले निर्धारण गरेको पारिवारिक नाता नमिलेका कारण पनि कलेजो प्रत्यारोपणमा विस्तार हुन नसकेको उनीहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस्