लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फागुन दोस्रो सातादेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान

tillotmacitynews - 2024 Jan 26 08:30 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ १२ गते । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो।


स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका  अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रूबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ ।‘बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागि गराइने छ,’ प्रमुख डा. गौतमले भने।


जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनले बताए।  परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताए। 


दादुरा–रूबेला सवभन्दा बढी संक्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ ।‘दादुरा–रूबेला बढी सङ्क्रामक हुन्छ,’ खोप शाखा प्रमुख डा. गौतमले भने, ‘त्यसैले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गर्न थालेका छौं।’

कमेन्ट गर्नुहोस्