लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग माग्यो दरबन्दी बाहेकका कर्मचारीको विवरण

tillotmacitynews - 2023 Dec 12 08:03 AM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर, २६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ताभित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ । सोमबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् ।


मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेको भन्दै त्यसै प्रयोजनका लागि विवरण माग गरेको बताएको छ । गत साउनदेखि कतिपय पालिकाहरुमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलव पाउन सकेका छैनन् ।   दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको परिपत्रमा उल्लेख छ ।


‘तहाँ महानगरपालिका, नगरपालिका र गाउँपालिकामा हाल कार्य गरिरहेका स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको लागि यस आ.ब.को साउनदेखि आगामी असार मसान्तसम्मको लागि थप तलब माग भई आएको हुँदा उल्लिखित स्वीकृत स्थायी दरबन्दीबाहेकका कर्मचारीको तपसिलको ढाँचामा ७ दिनभित्र विवरण उपलब्ध गराइदिनु हुन यस मन्त्रालयको २०८०।०८।२५ को निर्णय अनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।


तोकिएको समयमा विवरण उपलब्ध नभएमा यस वर्षको तलव भत्ता निकासा गर्न नसकिने मन्त्रालयको पत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्