
एप्पलको आइफोन, आइप्याड तथा आइपोड आदिको मूल्य कति पर्दछ भन्ने त स्मार्टफोनका पारखीहरू सबैलाई थाहै भएको कुरा हो । तर यदि कसैले तपाईंलाई एप्पलको पहिलो आइफोन अर्थात् आइफोन १ को मूल्य अहिले कति पर्ला भनेर सोध्यो भने के भन्नुहुन्छ ? यसको सबैभन्दा सजिलो तरिका भनेकै उक्त फोनलाई लिलामीमा राख्नु नै हो, जहाँ बजारले नै बढाबढबाट त्यसको मूल्य निर्धारण गर्नेछ ।यस्तै एउटा आइफोन वान अमेरिकामा लिलामी भएको छ । बक्स नै नखोलिएको अर्थात् प्रयोग नै नभएको आइफोन वान ३५ हजार ४१४ अमेरिकी डलर अर्थात् करिब ४५ लाख रुपैयाँमा लिलाम बिक्री भएको हो ।त्यस्तै सन् २००१ मा लञ्च भएको पहिलो आइपोड पनि २५ हजार डलर अर्थात् करिब ३२ लाखमा बिक्री भएको छ । आर आर अक्सनले ती सामान लिलाम गरेको हो ।
उसो त पहिलो जेनेरेसनको उक्त दुर्लभ आइफोनको मूल्य लाखौं डलरमा हुनसक्दथ्यो । तर, लिलामीका क्रममा त्यसलाई करिब ३५ हजार डलरमै बिक्री गरियो ।स्मरण रहोस् उक्त लिलामीका क्रममा एप्पल वान कम्प्युटरको सर्किट बोर्ड पनि बिक्री गरियो, जसलाई एप्पलको संस्थापक स्टिफेन वज्नियाक आफैंले तयार गरेका थिए। उक्त सर्किट बोर्डलाई ६ लाख ७७ हजार १९६डलर अर्थात् करिब ९ करोड रुपैयाँ परेको थियो ।पहिलो आइफोनमा २ मेगापिक्सेल क्यामेरा तथा भिजुअल भ्वाइसमेल क्षमता थियो । सन् २००७ को जुन महिनामा लञ्च भएको आइफोन वान दुईवटा भेरिएन्टमा उपलब्ध थियो । जसमा ४ जिबीको मूल्य ४ सय ९९ डलर तथा ८ जिबी भेरिएन्टको मूल्य ५९९ डलर थियो । साथै यसमा एमपी थ्री प्लेयर, वेब ब्राउजर तथा अन्य विभिन्न फिचरहरू थिए । ती सबै फिचर उक्त समयका लागि अत्यधिक हाइटेक थिए ।
लाखौं डलरमा हुन्छ लिलामी
वास्तवमा पुराना तर प्रयोग नगरिएका वा नखोलिएका ग्याजेटहरू संसारभर नै निकै महँगो मूल्यमा बिक्री हुने गर्दछन् । तथापि आइफोन वानले सोचेजस्तो मूल्य पाउन सकेन । यसअघि निन्टेन्डोको भिडियो गेम Super Mario 64 को नखोलिएको संस्करण साढे १५ लाख डलरमा बिक्री भएको थियो ।सुुपर मारियो ६४ संसारको सबैभन्दा लोकप्रिय भिडियो गेममा एक हो । हालै लिलाम भएको आइफोन पनि यस्तै दुर्लभ ग्याजेट हो ।प्रविधि क्षेत्रमा यो डिभाइस आफैंमा एक कोशेढुंगा हो किनकि यसले वास्तवमा स्मार्टफोनकेा युग सुरु गरेको थियो ।
एजेन्सी
कमेन्ट गर्नुहोस्