लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘चिसो मान्छे’, स्वस्तिमाको भिन्न लुक्स

IMG

२०७८ माघ २६, तिलोताम्मा सिटी ।  नेपाली चलचित्र ‘चिसो मान्छे’ आउँदो असार ३ गतेबाट प्रदर्शन हुनेछ । बैशाख ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘चिसो मान्छे’ एक महिना पछाडि सरेको छ ।सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण टिमले फिल्मको रिलिज सारेको हो । फिल्मको नयाँ प्रदर्शन मिति घोषणासँगै अभिनेत्री स्वस्तिमा खड्काको लुक्स पोस्टर पनि सार्वजनिक गरिएको छ ।


पोस्टरमा स्वस्तिमा अहिलेसम्मकै भिन्न लुक्समा देखिएकी छन् ।  रातो फरिया बेरेकी उनले बाउला च्यात्तिएको पुरानो चौबन्दी चोली लगाएकी छन् । घाँटीमा पहेँलो रंगको पोते, नाकमा साधारण बुलाकी र निधारमा रातो रंगको टीका लगाएर देखिएकी उनको अनुहारको भावले थकान, निराशा, चिन्ता, पीडा लगायत धेरै कुरा भन्छ ।फिल्म ‘बुलबुल’ मा ट्याप्पु ड्राइभरको भूमिकामा गरेको अभिनयले वाहवाही बटुलेकी स्वस्तिमालाई ‘चिसो मान्छे’ ले थप उचाईँ दिलाउने धेरैको विश्वास छ ।  फिल्ममा उनी बाजुराको अति विपन्न महिलाको भूमिकामा छिन् । फिल्मका लागि उनले बाजुरामा बोलिने भाषा र लवज समेत सिकेकी थिइन् ।

 

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्ममा स्वस्तिमाका अलावा अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनालको हो । ‘पशुपति प्रसाद र आमा’ जस्तो उम्दा फिल्म दिएका दीपेन्द्रले ‘चिसो मान्छे’ कस्तो बनाएका छन्, धेरैमा कौतुहलता पनि छ ।

कमेन्ट गर्नुहोस्