
बुटवल । नेपाली चलचित्र ‘आ बाट आमा–२’ को प्रचारप्रसारका लागि देश दौडाहामा रहेका कलाकारहरूले बुटवलमा भव्य मेगा कन्सर्ट गरेका छन्। बुटवलको गोलपार्कमा हजारौँ दर्शकको उपस्थितिमा सम्पन्न कन्सर्टमा चलचित्रका कलाकार तथा गायक–गायिकाले बेजोड प्रस्तुति दिएका हुन्।
कन्सर्टमा सहभागी हुन बुटवल आएका कलाकारहरूलाई विमानस्थलमै चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपाने र वरिष्ठ चिकित्सक डा. मुक्ति शर्मा दम्पत्तिसहित पत्रकारहरुले स्वागत गरेका थिए।
चलचित्रका कलाकारहरू विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मालिका महत, निकिता आचार्य र रिस्ता गुरुङसँगै गायक बाबुल गिरी तथा गायिका गंगा सोनाम, जुरी लगायतको सहभागिता रहेको थियो। कन्सर्टमा गायक बाबुल गिरी र गायिका गंगा सोनामले आफ्ना गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए। त्यस्तै, नायक तथा नायिकाहरूले हालै सार्वजनिक दशैँ गीतमा नृत्य प्रस्तुत गर्दै दर्शकलाई उत्साहित बनाएका थिए।
होटल पौवामा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया
कन्सर्टअघि बुटवलका पत्रकारहरूसँग होटल पौवामा प्रेस भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपानेको संयोजनमा सम्पन्न कार्यक्रममा कलाकारहरूले चलचित्र, देश दौडाहा र कन्सर्टका विषयमा आफ्ना धारणा राखेका थिए।कार्यक्रममा पत्रकारहरूले राखेका जिज्ञासाको कलाकारहरूले जवाफ दिएका थिए। चलचित्रको प्रचारप्रसार, दर्शकको अपेक्षा र चलचित्र क्षेत्रसँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो।
असोज ३० गतेदेखि हलमा आउँदै ‘आ बाट आमा–२’
प्रेस भेटघाट तथा कन्सर्टका क्रममा कलाकारहरूले दर्शकलाई चलचित्र हेर्नका लागि निमन्त्रणा दिएका छन्। कलाकारहरूले दर्शकको माया र साथले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै आगामी असोज ३० गतेदेखि सिनेमा हलमा पुगेर ‘आ बाट आमा–२’ हेर्न आग्रह गरेका हुन्।बुटवलमा आयोजित मेगा कन्सर्टले चलचित्रको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनुका साथै कलाकार र दर्शकबीच प्रत्यक्ष भेटघाटको अवसरसमेत प्रदान गरेको थियो। हजारौँ दर्शकको सहभागिताले कन्सर्टलाई उत्साहपूर्ण बनाएको थियो।
कन्सर्टमा पलका फ्यानहरुले मलिकालाई संगैलिएर आएका पल शाहलाई स्टेजमा चढ्नै धौ-धौ बनाएका थिए भने, धेरै लामो समयपछि अभिनेत्री बिपना थापालाई प्रत्यक्ष देख्दा दर्शकको ताली र हुटिङ्ग गज्जबकै आएको थियो। त्यस्तै नायक आकाश श्रेष्ठ र नायिका निकिता आचार्यको नृत्यलाई दर्शकले मज्जा लिएर झुमेर हेरका थिए भने बाबुल र गंगाको गीतमा दर्शकले वान्स मोर ब्यक्त गरेका थिए।कन्सर्टको होस्ट सुमन श्रेष्ठले गरेका थिए।
कमेन्ट गर्नुहोस्