लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘बाः एक योद्धा’मा दर्शक बढेसँगै शो पनि थपियो

IMG

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’को व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको छ । प्रदर्शनको तीन दिन निरन्तरको झरीले व्यापारमा ठूलो असर गरेको भए पनि मंगलबारदेखि हलमा दर्शकको चाप बढेको छ । मंगलबार ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटमा फिल्मले देशव्यापी ७० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको थियो । 


बुधबार (आज) पनि फिल्मको देशव्यापी अकुपेन्सी सुखद देखिएको छ । क्यूएफएक्स भक्तपुर, कीर्तिपुर सिनेप्लेक्स, एफक्यूब, बिग मुभिज, क्यूएफएक्स सिभिल, सिटी स्क्वायर, वान् सिनेमाजलगायतका काठमाडौंका हलमा बुधबार फिल्मको अकुपेन्सी ८० प्रतिशत हाराहारी छ । पोखरा, बुटवल, नेपालगन्ज, दमक, इटहरीलगायतका हलमा पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ ।


फिल्ममा दर्शकको चाप बढेसँगै मल्टीप्लेक्सहरूले शोमा पनि वृद्धि गरेका छन् । देशव्यापी ६० शोबाट प्रदर्शन सुरु गरेको फिल्मले बुधबार एक सयभन्दा बढी शो पाएको वितरक आशिष तामाङले जानकारी दिए । उनले बुधबारको अकुपेन्सी प्रदर्शनयताकै उच्च रहेकाले बिहीबारदेखि फिल्मले देशभर डेढ सयभन्दा बढी शो पाउन सक्ने बताए।

हरि लम्सालको निर्देशनमा बनेको फिल्मलाई दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेको छ । फिल्म हेरेपछि विशेषगरी महिला दर्शकहरू हलबाट रुँदै समेत निस्किएका छन् । हरेक अभिभावकले आफ्ना सन्तानलाई ‘बा: एक योद्धा’ अनिवार्य देखाउनुपर्ने दर्शकहरूको प्रतिक्रिया छ । कतिपयले बुवाको कथामा बनेको अहिलेसम्मकै उत्कृष्ट नेपाली फिल्म समेत भनेका छन् ।


वसन्त लम्सालको लगानीमा बनेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतको अभिनय छ । फिल्मले सन्तानका लागि एक बाबुले गर्ने त्याग र संघर्षको कथा प्रस्तुत गरेको छ । बुवाको भूमिकामा दिव्यदेवको अभिनयले फिल्मलाई हेर्नलायक बनाएको छ । 

कमेन्ट गर्नुहोस्