लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा अनमीसहित ३ संक्रमितको मृत्यु,कपिलवस्तुका संक्रमितको बुटवलमा ज्यान गयो

tillotmacitynews - 2020 Nov 10 08:08 PM
IMG

२५ कात्तिक, बुटवल । रुपन्देही जिल्लामा उपचाररत एक स्वास्थ्यकर्मीसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी हुन् । रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु यो नै पहिलो हो ।कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १८ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको सोमबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले बताए ।


यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको प्रवक्ता डा. पोखरेलले जानकारी दिए । डा. पोखरेलका अनुसार संक्रमित पुरुष दमको दीर्घरोगी थिए ।योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ८९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।


कपिलवस्तुका ७९ वर्षीय संक्रमितको बुटवलमा मृत्यु

यसैगरी कपिलवस्तुका एकजना कोरोना संक्रमितको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।कात्तिक २३ गते बिहान १० बजे अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको सोमबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोमबार राति ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे ।योसँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्