
तिलोत्तमा । पाँचौँ सम्पूर्ण नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा आयोजक सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४ सुपौली विजयी भएको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यू होराइजन युवा क्लब वालिङ, स्याङ्जालाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक सम्पूर्णले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको पहिलो हाफमा न्यू होराइजनले अग्रता लिएको थियो ।
दोस्रो हाफमा आयोजक सम्पूर्णले एक गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो। खेलको अन्तिम केही मिनेट बाँकी रहँदा जर्सी नम्बर ९ का निखिल पुनले आकर्षक गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । उनको गोल नै निर्णायक बनेपछि आयोजक टोलीले जित निकालेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोलीका अनोज थापा म्यान अफ द म्याच घोषित हुँदै नगद पुरस्कारसहित सम्मानित भए ।
प्रतियोगिताअन्तर्गत भोलि अभिषेक चर्च रजहर र सौभाग्य युवा क्लब दीपगनर, बुटवलबीच अर्को क्वाटरफाइनल खेल हुनेछ ।तिलोत्तमा–१४ सुपौली स्थित आयोजक क्लबकै खेलमैदानमा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ६० हजार ६ सय ६० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
कमेन्ट गर्नुहोस्