
रुपन्देहीको तिलोत्तमामा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेलामा आयोजित मेकअप प्रतियोगितामा सुस् व्यूटिपार्लरकी सञ्चालक सुस्मा पाण्डे प्रथम भएकी छन् ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा शनिबार भएको प्रतियोगितामा मायाज् हेयर एण्ड व्यूटी सलुनकी सञ्चालक योगमाया कँडेल द्वितीय र साइरा व्यूटिपार्लरकी सञ्चालक सनम थापा तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम हुने पाण्डेलाई १० हजार, द्वितीय हुने कँडेललाई ७ हजार र तृतीय हुने थापालाई ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको छ । प्रतियोगितामा १२ जना ब्युटिसियनले प्रतिस्पर्धा गरेको ब्यूटी एक्स्पोकी संयोजक तथा तिलाेत्तमा उद्याेग वाणिज्य संघकी कार्यसमिति सदस्य अञ्जना केसीले जानकारी दिइन् ।प्रतियाेगितामा शाैन्दर्य विज्ञ व्यूटिसियनहरु बुटवल उद्याेग वाणिज्य संघकी कार्यसमिति सदस्य रेनु श्रेष्ठ र सिद्धार्थनगर उद्याेग वाणिज्य संघकी कार्यसमिति सदस्य पल्लवी न्याैपानेले निर्णायककाे भूमिका निर्वाह गरेका थिए ।सौन्दर्य व्यवसायको प्रवर्द्धन, ब्युटिसियनको व्यावसायिक सीप प्रदर्शन र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मेलामा ब्यूटी एक्स्पो सञ्चालन गरिएको हो । एक्स्पोमा ६ वटा व्यूटिपार्लरका स्टल राखिएका छन् । ती स्टल आयोजकले निःशुल्क उपलब्ध गराएको संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले बताए ।
मेलामा रहेका करिब ३२५ स्टलमध्ये सौन्दर्य व्यवसायसँग सम्बन्धित स्टललाई निःशुल्क स्थान दिएर व्यवसाय प्रवर्द्धनमा सहयोग गरिएको उनले बताए । एक्स्पोले सौन्दर्य व्यवसायमा आबद्ध महिलालाई आफ्नो सीप र सेवा चिनाउने तथा सम्भावित ग्राहकसँग जोडिने अवसर प्रदान गरेको छ ।‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि’ भन्ने नारासहित मंसिर ३ गतेदेखि मणिग्राममा सञ्चालित मेला १४ दिनसम्म चल्नेछ ।औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि र पर्यटनसँग सम्बन्धित सामग्रीको प्रदर्शनी तथा बिक्रीसँगै मेलामा सांस्कृतिक कार्यक्रम, रामायण शो, बालउद्यान, तिलोत्तमा आरती र विभिन्न धार्मिक तथा पर्यटकीय स्थलका कलात्मक संरचनासमेत राखिएका छन् ।
कमेन्ट गर्नुहोस्