
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–मणिग्राममा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सवमा दर्शकको आकर्षण बढ्दै गएको छ। सार्वजनिक बिदाको दिन शनिबार मेलामा एकैदिन करिब ३० हजार दर्शकले अवलोकन गरेका छन्। दर्शकको उल्लेख्य उपस्थितिसँगै मेलास्थलमा चहलपहल र रौनकता थपिएको छ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको मेलामा उद्योग, व्यापार, कृषि, पर्यटन तथा प्रविधिसम्बन्धी करिब ३२५ वटा स्टल राखिएका छन्। मेलामा तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि २६ वटा स्टलसमेत सञ्चालनमा ल्याइएको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला आयोजक मूल समितिका सहसंयोजक सुरज पंगेनीले जानकारी दिनुभयो।तिलोत्तमामा आयोजना गरिएको यो नवौँ औद्योगिक व्यापार मेला भए पनि तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भएको चौथो औद्योगिक व्यापार मेला हो।
‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजित महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास, नयाँ प्रविधिबारे जानकारी तथा व्यापारिक गतिविधि विस्तारलाई प्राथमिकता दिएको छ ।१४ दिनसम्म सञ्चालन हुने मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ।मेलामा विभिन्न उद्योग तथा व्यवसायका उत्पादन, कृषि उपज, स्थानीय वस्तु तथा सेवासँगै प्रविधि र पर्यटनसम्बन्धी सामग्रीको प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरिरहेको छ।
शनिबार देखिएको दर्शकको भीडले महोत्सवप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको संकेत गरेको छ।मेलामा आयाेजना गरिएकाे प्रतियाेगिता अन्तरगत शनिबार गायक गायिका बद्री पंगेनी, प्रिति आले लगायतका कलाकारहरुकाे प्रस्तुती रहेकाे थियाे ।स्थानीय उत्पादनको बजार विस्तार, व्यापारिक सम्बन्ध विकास र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले आयोजना गरिएको महोत्सवले तिलोत्तमाको आर्थिक तथा व्यावसायिक पहिचान प्रवर्द्धनमा समेत योगदान पुर्याउने मेला आयोजक मूल समितिले अपेक्षा गरेको छ।
कमेन्ट गर्नुहोस्