
काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत मुग्लिन र कुरिनटारबीचको घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन अहिले डाँडो झार्ने काम भइरहेको छ ।लगातार सुक्खा पहिरो खस्न थालेपछि हिजो दिउँसोदेखि गाडी आवागमन रोकेर यो जोखिमपूर्ण काम थालिएको हो ।नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार झन्डै १०० मिटर अग्लो ठाउँमा एक्स्काभेटर पुर्याएर डाँडो काट्ने काम भइरहेको छ ।
यसका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा गाडीको आवागमन बन्द गरिएको छ । डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्स्काभेटरलाई क्रमशः तल झारिने योजना छ। सडक बन्द गरिएको समयको सदुपयोग गर्दै घोप्टेभीरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तारको काम पनि सँगै अगाडि बढाइएको छ । त्यहाँ १५० मिटर लामो भागमा झन्डै ३ मिटर सडक चौडा गर्नुपर्नेछ । यस्तै चुम्लिङ्टार र कुरिनटारबीचको डाहाकी खोलामा पनि १०० मिटर क्षेत्रमा सडक २ मिटर चौडा गर्ने काम भइरहेको छ ।चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यो सम्पूर्ण काम पाँच दिनभित्र सक्न निर्माण कम्पनीलाई ताकेता गरिएको जानकारी दिनुभयो ।
गएको एक महिनायता सुक्खा पहिरो खस्दा घोप्टेभीर क्षेत्रमा लगातार समस्या उत्पन्न हुँदै आएको छ । पटक–पटक पहिरो खसेर गाडीहरू रोकिएका छन् भने खसेको ढुङ्गाले लाग्दा एक जनाले ज्यान समेत गुमाइसकेका छन् ।मुग्लिनबाट काठमाण्डाैतर्फ झन्डै ३ किलोमिटर दूरीमा पर्ने यो मार्ग भएर दैनिक १५ सयभन्दा धेरै गाडी सङ्घीय राजधानी भित्रिने र बाहिरिने गर्दछन् ।
कमेन्ट गर्नुहोस्