लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

IMG

सिँजा (जुम्ला)। जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब ७ हजार ३३० मेट्रिक टन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । 


जिल्लाभर कुल उत्पादन र निर्यात भएको एकिन तथ्याङ्क संकलन भइरहेको छ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा केही घटेको अनुमान गरिएको छ । जिल्लामा १९ हजार पाँचसय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । हालसम्म करिब ७ हजार ३३० मेट्रिक टन निर्यात भएको छ।प्रतिकेजी न्युनतम ७५ रुपियाँमा बगैंचाबाट किसानले विक्री गरेका छन्। जसबाट ५५ करोड बराबरको स्याउ जिल्लाबाट निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले बताउनुभयो । जिल्लाको तातोपानी गाउँपालिका –६ स्थित बाँजारावलामा ७ हजार १४० रोपनी क्षेत्रफलमा भएको सामूहिक स्याउ खेतीबाट ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसबाट मात्र ३० लाख बराबरको स्याउ विक्रि भएको अधिकारीको भनाइ छ।


जुम्लामा झण्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । चालु आवमा झण्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउ खेती विस्तार गरिने लक्ष्य कार्यालयले लिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।जिल्लामा उच्च घनत्व जातको फुजी स्याउको खेती अहिले ५२ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । यस वर्ष ४९ हेक्टरमा उच्च घनत्वको स्याउ फलेको कृषि कार्यालयले जनाएको छ। जुम्लामा रेडडेलिसेस, रोयलडेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय विभिन्न जातका स्याउ फल्छन् । उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 


केही स्याउ व्यापारीले कोल्ड स्टोरका साथै घरमा पनि राखिएकाले निर्यात र रकम बढ्न सक्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार यहाँका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेको जनाएको छ।यो वर्ष भारतबाट आउने स्याउ नेपालमा बन्द भएपछि जुम्लाको स्याउले बजार राम्रो पाएको छ । जिल्लाबाट एक हजार पाँचसय कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा विक्री गरेको हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी माया रोकायाले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्