लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीको सरायँ मेलामा काठे पिङको बढ्दो आकर्षण

IMG

रेसुङ्गा (गुल्मी)। दसैँको बेला गुल्मीका गाउँबस्तीमा काठे पिङको आकर्षण बढेको छ । दसैँको टीका लगाए पछिका सरायँ नाच हुने स्थानहरुमा पिङले साँस्कृतिक जमघट गराउने गरेको छ । 


जसले दसैंमा गाउँघरमा पर्वको रौनक झन बढी थप्ने गरेको छ । आधुनिक मनोरञ्जनका साधनको विस्तार भइरहेका बेला पनि काठे पिङले पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मलाई उत्तिकै आकर्षित गर्दैआएको छ।जिल्लाका इस्मा, मालिका, धुर्कोट, मदाने, मुसिकोट र छत्रकोट लगायतका स्थानीय तहमा दसैँका बेला काठे पिङ देख्न पाइन्छ। विशेषगरी सरायँ नाच हुने स्थान र मेला लाग्ने क्षेत्रमा पिङ राख्ने गरिन्छ। केही स्थानमा एउटै टोलीले काठे पिङका सामग्री लिएर विभिन्न स्थानमा पुग्ने र मेला तथा पर्वको अवसर पारेर पिङ सञ्चालन गर्ने गरेको छ।


वर्षमा कम्तिमा एक पटक भए पनि जमिन छाड्नुपर्छ भन्ने परम्परागत मान्यतासँग जोडिएर दसैँमा पिङ खेल्ने चलन रहिआएको छ। बालबालिकादेखि युवायुवती र पाका पुस्ताका व्यक्तिसमेत पिङ खेल्दै रमाउने गर्छन्। लिङ्गे पिङसँगै काठे पिङले पनि दसैँको सांस्कृतिक पहिचानलाई जीवन्त राखेको इस्मा गाउँपालिका ५ का ६२ वर्षीय बोमबहादुर कुमालले बताउनुभयो ।उहाँले हरेक चाडपर्वले फरक पहिचान, आनन्द र अनुभूति बोकेर आउने भएकाले दसैँमा पिङ खेल्नु नेपालीको पुरानो परम्परा र संस्कृतिसँग जोडिएको बताउनुभयो । काठे पिङ मनोरञ्जनको साधन मात्र नभइ पुस्तौँदेखि हस्तान्तरण हुँदैआएको साँस्कृतिक सम्पदा समेत हो।


यसको सञ्चालन कतिपयका लागि व्यवसायसँग जोडिए पनि पिङले पुरानो परम्परालाई निरन्तरता दिन सहयोग पुर्‍याएको इस्मा गाउँपालिका ६ अमरपुरका युवा पुष्कर पोख्रेलले बताउनुभयो। उहाँले भन्नुभयो, पिङले दसैँ आएको अनुभूति गराउँछ। एकपटक पिङ नखेलेसम्म घर फर्किनै मन लाग्दैन ।पिङ खेल्ने बहानामा गाउँले, आफन्त र साथी भाइबिच भेटघाट हुने तथा आपसी सद्भाव र भाइचारा बढ्ने गरेको छ। दसैँको सामूहिक उल्लास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको प्रतीक बनेको काठे पिङले गुल्मीमा पर्वको रौनक थप्दै धुर्कोट गाउँपालिका ६ रजस्थलका युवा भरत भण्डारीले बताउनुभयो । हरेक गाउँमा काठे वा लिङ्गे पिङ राख्ने युवाहरु छैनन् । कम्तिमा मेलामा भए पनि काठे पिङ चढ्न र देख्न पाइने गरेको भण्डारीले बताउनुभयो। 

कमेन्ट गर्नुहोस्