लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवामा नगर प्रहरीको कडाइ, गरिब तथा निमुखा नागरिक मारमा

IMG

भैरहवा। सिद्धार्थनगर नगरपालिका–भैरहवास्थित भीम अस्पताल अगाडिको क्षेत्रमा नगर प्रहरीले गरेको कडाइका कारण दैनिक ज्यालादारी तथा साना व्यवसाय गरेर जीविकोपार्जन गर्ने गरिब तथा निमुखा नागरिकहरू समस्यामा परेको गुनासो बढेको छ।


आफ्नो परिवारको पेट पाल्न सानो व्यापार तथा दैनिक मजदुरी गर्दै आएका नागरिकहरूले नगर प्रहरीको कडाइका कारण सहज रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न नसकेको बताएका छन्। बिहानदेखि बेलुकासम्म मेहनत गरेर कमाएको आम्दानीबाट परिवारको छाक टार्नेहरूलाई समेत विभिन्न कारण देखाउँदै हटाउने गरिएको उनीहरूको गुनासो छ।स्थानीयका अनुसार भीम अस्पताल अगाडिको क्षेत्रमा साना ठेला, पसल तथा अन्य माध्यमबाट आम्दानी गर्दै आएका विपन्न नागरिकहरूलाई व्यवस्थित गर्ने नाममा गरिएको कारबाहीले उनीहरूको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ।


“हामीले चोरी वा गलत काम गरेका होइनौँ, मेहनत गरेर दुई छाक टार्न खोजेका हौँ। नगर प्रहरीले हटाइदिएपछि घरमा चुलो बाल्नसमेत समस्या हुन्छ,” एक पीडित नागरिकले गुनासो गरे।नगर क्षेत्रलाई व्यवस्थित, सफा र सुरक्षित बनाउनु आवश्यक भए पनि त्यस क्रममा गरिब तथा निमुखा नागरिकको रोजगारी र जीविकोपार्जनलाई समेत ध्यान दिनुपर्ने स्थानीयको माग छ। नगरपालिकाले विकल्पसहित उचित व्यवस्थापन गरी नागरिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ छ।यस विषयमा सिद्धार्थनगर नगरपालिका तथा नगर प्रहरी प्रशासनले सम्बन्धित नागरिकको गुनासो सुनेर मानवीय र न्यायोचित ढंगबाट समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ। 


साभार : रुपेश अग्रहरी 

कमेन्ट गर्नुहोस्