लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-६ को दुर्गा मन्दिर टोलमा बक्तृत्वकला तथा माईन्युट लेखनको ४ दिने तालिम सम्पन्न

IMG

पुर्व पहुनी। तिलोत्तमा नगरपालिका वडा नं–६ को आयोजनामा दुर्गा मन्दिर टोल विकास संस्थाका महिला तथा पुरुषहरूलाई लक्षित गरी सञ्चालन गरिएको चार दिने वक्तृत्वकला तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ। व्यक्तित्व विकास, सार्वजनिक प्रस्तुतीकरण क्षमता अभिवृद्धि तथा संस्थागत अभिलेखीकरणलाई व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा करिब ४० जनाको सहभागिता रहेको थियो।


तालिम समापन कार्यक्रममा वडा सदस्य पूर्ण प्रसाद आचार्य ‘सञ्जय’को अध्यक्षता रहेको थियो। कार्यक्रममा वडा सदस्य सिता खनाल, दुर्गा मन्दिर टोल विकास संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक सुना श्रीस, निवर्तमान टोल अध्यक्ष भागीरथी न्यौपाने लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन सिता श्रीस मगरले गरेकी थिइन् भने स्वागत मन्तव्य कुबिजा न्यौपाने पाण्डेले व्यक्त गरेकी थिइन्।


चार दिनसम्म सञ्चालन भएको तालिममा सञ्चारकर्मी सरु राना र मोहन न्यौपानेले सहजीकरण गरेका थिए। तालिमका क्रममा सहभागीहरूलाई प्रभावकारी वक्तृत्वकलाको शैली, आत्मविश्वासका साथ बोल्ने तरिका, सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने कला, बैठकका निर्णय तथा गतिविधि व्यवस्थित रूपमा अभिलेख राख्ने माइन्युट लेखन विधिबारे व्यवहारिक प्रशिक्षण दिइएको थियो।प्रशिक्षकहरूले बोल्ने कला केवल भाषणमा सीमित नभई समाजमा नेतृत्व विकास, सामाजिक सम्बन्ध विस्तार तथा व्यक्तिको आत्मविश्वास बढाउने माध्यम भएको बताएका थिए। त्यस्तै, संस्थागत कामलाई पारदर्शी र व्यवस्थित बनाउन माइन्युट लेखन महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै सहभागीहरूलाई व्यवहारिक अभ्याससमेत गराइएको थियो।


समापन कार्यक्रममा बोल्दै अध्यक्ष पूर्ण प्रसाद आचार्य ‘सञ्जय’ले समुदायस्तरमा क्षमता विकासका कार्यक्रम आवश्यक रहेको बताउँदै यस्ता तालिमले स्थानीय नागरिकमा नेतृत्व क्षमता र सामाजिक सक्रियता बढाउने विश्वास व्यक्त गरे। उनले सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताए।वडा सदस्य सिता खनालले महिलाहरूको सक्रिय सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको उल्लेख गर्दै समाज रूपान्तरणका लागि महिलाको नेतृत्व र सहभागिता महत्वपूर्ण रहेको बताइन्। त्यस्तै, कार्यक्रम संयोजक सुना श्रीसले टोल विकास संस्थालाई अझ व्यवस्थित र सक्रिय बनाउन तालिमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।


तालिममा सहभागीहरूले पनि सार्वजनिक रूपमा बोल्न सक्ने आत्मविश्वास बढेको, बैठक सञ्चालन तथा निर्णय लेखनसम्बन्धी ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले आगामी दिनमा यस्ता सीपमूलक तथा चेतनामूलक कार्यक्रम थप सञ्चालन गर्न आग्रह गरेका थिए।समापन अवसरमा सबै सहभागीहरूलाई अध्यक्ष तथा अतिथिहरूले अबिर, प्रमाणपत्रसहित सम्मान गरेका थिए। साथै प्रशिक्षक सरु राना र मोहन न्यौपानेलाई प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्