
मणिग्राम चोक।
बाक्लो हुस्सु।
चिसो यति कि सास फेर्दा पनि फोक्सोले प्रतिवाद गरेजस्तो लाग्थ्यो। बिहान कि साँझ—ठ्याक्कै छुट्याउन नसकिने घडी। समय कुहिरोभित्र कतै हराएजस्तो।
इन्भाइरन्मन्ट स्कुल अगाडिको पसल।
त्यहाँ चिया नपिइ अगाडि बढ्ने हिम्मत आएन।
साच्चै भन्नुपर्दा, चिया बहाना थियो—चुरोटको तलतल मेटाउने एउटा स्वीकृत कारण खोजेको मात्र थिएँ।
बाइक रोकेँ।
हेल्मेट खोलेँ।
चियाको कप हातमा आउँदा औँलामा अलिकति तातोपन महसुस भयो—सायद बिहानदेखि पहिलोपटक कुनै चीजले न्यानो दिएको थियो।
एक सुरुप लिएँ।
चुरोट सल्काउन आँटेको थिएँ।
त्यसै क्षण बुझें—जल्न त मन धेरै अगाडिदेखि नै थालेको रहेछ।
झिस्मिसेभित्रबाट देखिने एउटा रातो स्कुटी।
कुहिरो चिर्दै म तिरै सोझियो।
क्षणभर लाग्यो—दुश्मनी गर्न आँट्या हो कि दोस्ती गर्न?
थाहा थिएन।
तर स्कुटीसँगै म आफैँ पनि अनायासै नजिकिँदै गइरहेछु।
उ अर्थात् (जेनिशा)।
रातो कुर्ता।
जिन्स।
गाढा रातो लिपस्टिक।
चिसो हावामा खुल्लै छोडिएको कपाल—त्यो दृश्यले सिधै मुटुमा कुनै धारिलो कुरा घोचेजस्तो गर्यो।
उ मेरो अगाडि हुँदै, आँखाको ठीक सामुन्नेबाट, अलिक परको केक शपसम्म पुगेर स्कुटी रोक्छे।
तर मेरा आँखा रोकिँदैनन्।
टोलाइरहेँ—एकोहोरो, उसैतिर।
उ स्कुटी टेकाएर भित्र पस्छे।
त्यही क्षण मेरा आँखा झस्किन्छन्, सास हल्का गह्रौँ हुन्छ, अनि ध्यान फेरि चिया र चुरोटतिर फर्किन्छ।
तर मन फर्किँदैन।
त्यो हाफ काटिएको, हावाको बेगले उडिरहेको कपाल।
छुन सकिने दूरीमा उभिएको एउटा लोग्ने मान्छे।
डाहा लाग्छ—स्पष्ट, खुला डाहा।
म उसलाई आँखाले भ्याएजति नियाल्छु।
त्यो कपालबाट आउने मुग्ध वासनामा ऊ हराएको देखिन्छ।
सायद उसले त्यो वासना महसुस गरिरहेको थियो—जुन कहिल्यै मेरो थियो, अनि अहिले मेरो होइन।
धेरै भइसकेको थियो त्यो अधिकार खोसिएको।
अब अधिकृत ऊ थियो।
किनकि ऊ उसको श्रीमान् थियो।
अर्थात् एरिक—सम्भवत:।
दिमाग त्यहीँ रोकिँदैन।
अतीततर्फ डोरिन्छ।
एक चुरोटको सर्को।
रक्सीको प्याला।
अनि अर्को—तिम्रो याद मिसिएको पीडा।
के यति कम थिए मलाई जलाउन?
मलाई पलपल मर्न बाध्य पार्न?
जो स्वयं तिमी आयौ—दर्शन दिन।
बिहानदेखि अलिक फ्रेस हुन खोजेको अनुहार फेरि कुहिरोसँगै धमिलिन थालेजस्तो लाग्यो।
आफ्नै अनुहार आफैँलाई अपरिचित लाग्न थाल्यो।
आँखा फेरि केक शपतिरै डुल्छ।
चुरोटको धुवाँ एकपछि अर्को गर्दै कुहिरोमा मिसाउँछु।
कुन धुवाँ कुहिरो हो, कुन कुहिरो धुवाँ—छुट्याउनै गाह्रो।
धड्कनको चाल अस्वाभाविक रूपमा बढ्दै गएको महसुस हुन्छ।
चियाको कप—अनि पर, तिमी।
एउटै फ्रेमभित्र दुई विपरित संसार।
हल्का खुशी, अनि अविस्मरणीय तीतो अतीत।
म टोलाइरहेँ—व्यस्त सहरमा, एक्लै।
म बोलिरहेँ—आफ्नै मनसँग, एक्लै।
म सुनिरहेँ—आफ्नै सास, एक्लै।
उ निस्किन्छे।
हातमा एउटा चारपाटे बाकस।
पक्कै केक।
पक्कै कुनै शुभकार्य।
एनिभर्सरी, बर्थडे, वा जीवनको कुनै खुसी क्षण।
केही—तर विशेष।
त्यो विशेष, जुन कहिल्यै मेरो हुने थिएन।
उ फर्किन्छे त्यही बाटो हुँदै।
म अझै हेरिरहेँ—बिना कुनै संकोच, बिना कुनै प्रवाह।
सायद उसले पनि देख्छे।
एकछिनका लागि आँखाहरू जुध्छन्।
उ मुस्कुराउँछे।
फिक्का।
औपचारिक।
र धेरै फरक—पहिलेभन्दा।
त्यो मुस्कानले केही भत्काउँछ, केही पुष्टि गर्छ।
म चुरोटको ठुटो कुल्चिन्छु।
धुवाँसँगै केही आशा पनि कुल्चिएजस्तो लाग्छ।
अनि लाग्छु—बुटवल। बैंक।
दैनिक जीवनको अनिवार्य दिशातर्फ।
म दोमनमा थिएँ।
कारण केवल जेनिशा थिई।
सब ठीक हुने थियो सायद—उ देखा नपरेकी भए।
समय बिस्तारै बग्थ्यो।
घाउ आफैँ सुक्थे।
तर उ आएकी थिई—पहिरो लिएर।
गरिबको घर भत्काएर छाड्न।
उ आएकी थिई—असिना बनेर।
गरिबको बाली चुटेर जान।
उ आएकी थिई।
दिमागमा यी कुरा एकपछि अर्को गर्दै दौडिरहेका थिए।
उता रातको त्यो अविस्मरणीय घटना।
म जान्न उत्सुक थिएँ—को हुन् उनी?
किन यति गहिरो चोट?
हजारौँ अनुत्तरित प्रश्नसहित
म बिर्सन पनि उत्सुक थिएँ उसलाई—जेनिशा।
तर दुबै कुरा मेरो क्षमताभन्दा बाहिर रहेछन्।
न म उसलाई सोध्ने हिम्मत गर्न सक्थेँ,
न म उसको बिरालो आँखा र मूर्ख व्यवहारलाई पूर्ण रूपमा नकार्न सक्थेँ।
अनि जेनिशा—
गुमाइसकेको त पहिल्यै हो उसलाई।
बिर्सन त अब असम्भव नै भइसकेको रहेछ।
सुनेको थिएँ—यदि कसैलाई साँच्चै माया गरिरहन चाहन्छौ भने, उसलाई छोडेर जान देऊ।
नत्र पाएको माया सधैँ गुनासोमै बित्छ, एक–अर्काको कमी र कमजोरी देखाउँदै।
कमेन्ट गर्नुहोस्