
तिलोत्तमा, रुपन्देही। तिलोत्तमा नगरपालिका–२ स्थित शीतल चौपारीमा सञ्चालन हुँदै आएको बिहानी नृत्य तथा व्यायाम कार्यक्रमप्रति स्थानीयवासीको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। नियमित व्यायाम, जुम्बा तथा सामूहिक नृत्यमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम दैनिक रूपमा निरन्तर भइरहेको छ।
शीतल चौपारी मूल समितिका अध्यक्ष क्याप्टेन नरबहादुर कार्कीका अनुसार कार्यक्रममा वडा–२ का बासिन्दा मात्र नभई तिलोत्तमाका अन्य वडा तथा छिमेकी स्थानीय तहका नागरिकसमेत नियमित रूपमा सहभागी हुने गरेका छन्। "स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै बिहानको व्यायाम र जुम्बाप्रति सबै उमेर समूहको आकर्षण बढेको छ," उनले बताए।चौपारी परिसरलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले सम्पूर्ण क्षेत्रमा माटो तथा मिस्कट प्रयोग गरी लेभलिङ गरिएको छ। साथै, पूर्वतर्फ पानीको स्रोतको व्यवस्थापन गरिएको छ, जसबाट वन्यजन्तु तथा चराचुरुङ्गीले समेत लाभ लिने वातावरण सिर्जना भएको समितिले जनाएको छ।
उपसमिति संयोजक तेजेन्द्र पौडेलका अनुसार चौपारीका पुराना रुखहरूको संरक्षण गर्दै सहभागीहरूका लागि एकरूप पोशाक (ड्रेस) को व्यवस्था गरिएको छ। दक्ष प्रशिक्षकमार्फत नियमित रूपमा व्यायाम, जुम्बा र नृत्य प्रशिक्षण सञ्चालन भइरहेको उनले जानकारी दिए।स्थानीय समुदायको सक्रिय सहभागिता, वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनलाई एकसाथ अघि बढाएको यस कार्यक्रमले शीतल चौपारीलाई बिहानको समय स्वास्थ्य, मनोरञ्जन र सामाजिक भेटघाटको केन्द्रका रूपमा स्थापित गर्दै गएको स्थानीयवासीहरूको भनाइ छ।सो चौपारी ब्यबस्थापनका लागि तिलोत्तमा नगरपालिकाले समेत आर्थिक सहायता गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्