लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका मा उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न

IMG

तिलोत्तमा । तिलोत्तमा नगरपालिका को बाल तथा महिला एवं ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन गरिएको तीन दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमले सहभागीहरूलाई सार्वजनिक प्रस्तुति, प्रभावकारी सञ्चार तथा बैठक व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ।


तालिम समापन कार्यक्रममा रामकृष्ण खाण प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामकृष्ण खाण ले क्षमता विकाससम्बन्धी तालिमले व्यक्तिको आत्मविश्वास वृद्धि गर्नुका साथै संस्थागत कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। उनले स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारी तथा समुदायस्तरमा यस्ता सीपमूलक तालिमको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।


विशिष्ट अतिथि खुमलाल भुसाल ले तालिमबाट सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्दै प्रभावकारी सञ्चार र व्यवस्थित अभिलेखीकरण संस्थागत सुशासनका महत्वपूर्ण आधार भएको बताए।कार्यक्रममा शाखा प्रमुख सम्झना भण्डारी, कार्यक्रम संयोजक बिमला लम्साल, विभिन्न शाखाका कर्मचारी, सहभागी प्रशिक्षार्थी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।तीन दिनसम्म सञ्चालन भएको तालिममा उद्घोषण कला, प्रभावकारी बोल्ने शैली, कार्यक्रम सञ्चालन विधि, माइन्युट लेखनको सही प्रक्रिया, औपचारिक बैठक व्यवस्थापन, प्रतिवेदन तयारी तथा अभिलेखीकरणका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा पत्रकार सरु राना र मोहन न्यौपानेले सहजीकरण गरेका थिए।


प्रशिक्षकहरूले उद्घोषण केवल बोल्ने कला मात्र नभई आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र सञ्चार सीपसँग जोडिएको विषय भएको बताए। कार्यक्रममा सहभागीहरूलाई मञ्च सञ्चालन गर्दा अपनाउनुपर्ने शैली, औपचारिक कार्यक्रम सञ्चालनको प्रक्रिया, भाषाको शुद्ध प्रयोग, समय व्यवस्थापन तथा दर्शकसँग समन्वय गर्ने तरिकाबारे व्यवहारिक अभ्याससमेत गराइएको थियो।त्यसैगरी माइन्युट लेखनतर्फ बैठकका निर्णय, छलफल तथा योजनालाई व्यवस्थित रूपमा अभिलेख गर्ने विधि, सरकारी तथा संस्थागत माइन्युट लेखनको ढाँचा, भाषाशैली र अभिलेखीकरण प्रक्रियाबारे जानकारी दिइएको थियो। तालिममा सहभागीहरूले समूहगत अभ्यास तथा प्रस्तुतीकरणमार्फत सिकेका विषयलाई व्यवहारमा उतार्ने अवसर पाएका थिए।


तालिममा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए। धेरै सहभागीहरूले तालिमको अवधि थप गरी अझ विस्तृत रूपमा सिक्ने अवसर पाए अझ प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि रामकृष्ण खाण तथा विशिष्ट अतिथि खुमलाल भुसाल ले प्रमाणपत्र वितरण गरेका थिए।कार्यक्रमको अन्त्यमा आयोजक शाखाले तालिम सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, सहभागी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको थियो।

कमेन्ट गर्नुहोस्