लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ, (बिज्ञप्ति सहित)

IMG

बुटवल।  चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । सोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ ।


यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।विज्ञप्तिमा भनिएको छ, “हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको चलचित्र 'अभिमन्यु - Chapter 1' देशमा भएको Gen-Z आन्दोलनका कारण स्थगन गर्नु परेको थियो । तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य धेरै चलचित्रहरू प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली चलचित्रहरूलाई समेत असर पार्ने अवस्था देखियो ।


यी सबै पक्षलाई विचार गरी हामीले शुभ साईत असोज २४ गते लाई चलचित्रको अन्तिम प्रदर्शन मिति तय गरेका छौँ । यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउछौँ ।  तपाईंहरूको साथ र समर्थनका लागि आभारी रहँदै यस निर्णयका कारण देश तथा विदेशमा रहनुभएका वितरक, प्रदर्शक, दर्शक र सन्चारमाध्यममा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।”


यस पटक फिल्मले सोलो रिलिजको मौका पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।


शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।‘अभिमन्यु : च्याप्टर १’ नेपाली संस्करणसँगै हिन्दीमा पनि असोज २४ गतेदेखि भारत र विश्वभर एकैसाथ प्रदर्शन हुने भएकाले यसलाई नेपाली सिनेमाका लागि ठूलो अवसरका रूपमा लिइएको छ ।

कमेन्ट गर्नुहोस्