लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परम्परागत बस्तुलाई नयाँ पुस्तामा परिचित गराउन टिकुलीगढ माध्यामिक विद्यालयमा संग्रहालय

IMG

टिकुलिगढ़ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ मा रहेको टिकुलिगढ़ माध्यामिक विद्यालयले लोपोन्मुख परम्परागत सामग्रीहरू संकलन गरेर संग्रहालय (स्कूल-म्युजियम) स्थापना गरेको छ। तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा विद्यार्थी तथा समुदायका अन्य मानिसलाई समेत स्थानीय इतिहास, संस्कृति, र परम्पराको सम्झ्ना दिलाउन संग्रहालय बनाइएको प्रधानाध्यापक शंकर दत्त उपाध्याय बताउँछन्। “गाउँमा विस्तारै हराउँदै गइरहेका परम्परागत सामग्रीहरूलाई संरक्षण गरी आगामी पुस्तालाई तिनको महत्वबारे जानकारी दिनका लागि हामीले यस्तो प्रयास गरेका हौं”, उपाध्यायले भने।


म्युजियममा गाउँघरमा अघिल्लो पुस्ताले प्रयोग गरेका ठेटुवा बुन्ने तान, हाटबजार गर्ने भारे डोका, तुलो, भाङ्ग्रो, कोल, ढिकी, जाँतो, ठेकी, मदानी, बिस्कुन सुकाउन प्रयोग गरिने भार, चोयाको भकारी आदि राखिएका छन्। यस्तै, काठ र फलामबाट तयार गरिएको भान्सामा प्रयोग गरिने पुराना सामग्री, महिला तथा पुरुषका पुराना भेषभुषा, जातजातिका पहिरन पनि म्युजियममा राखिएको प्रअ उपाध्यायले जानकारी दिए। 


म्युजियममा राखिएका सबै सामग्रीहरू शिक्षक, विद्यार्थी तथा अभिभावक एवं समुदायबाट सहयोग प्राप्त भएका हुन् भए केहि सामाग्री विद्यालयले खरिद गरेको हो। गाउँलेहरू पुराना र लोपोन्मुख सामग्रीहरू विद्यालयलाई प्रदान गर्न आग्रह गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  कुलपति कंडेलले सबैले सहयोग गरेर यस अभियानमा जोडिन आग्रह गरेका छन्। 


सो अवसरमा संग्राहलयको समुद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण अर्यालले समुदायको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई भावी पुस्ताको लागि सुरक्षित राख्न सहयोग पुर्‍याउन संग्राहलयले ठुलो भूमिका खेल्ने बताएका थिए।संग्रहालयका लागि   विद्यालयले एउटा छुट्टै हलको व्यवस्था गरेको छ। शिशाको फ्रेममा सामग्रीहरू राखिएको छ भने प्रत्येक सामग्रीको नामांकन पनि गरिएको छ।


संग्रहालय समुद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका सामाजिक बिकास शाखाका संयोजक तथा कार्यपालिका सदस्य रवी सेन्चुरीले संग्राहलय स्थापनाले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताएका छन्। विद्यार्थीले कक्षाकोठाको पाठ्यपुस्तक बाहिरको ज्ञान प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउने र उनीहरूलाई आफ्ना पुराना परम्पराहरूको महत्व बुझन संग्राहलयले मद्दत पुग्ने उनको भनाई छ। कार्यक्रममा विद्यालयका शिक्षक,व्यवस्थापन समितिका पदाधिकारी विद्यार्थी एबम पत्रकारहरुको उपस्थिति रहेको थियो। 


कमेन्ट गर्नुहोस्