
तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानिय महिलाहरुको जिबनस्तर उकास्न र सिप मार्फत आत्मनिर्भर बनाउन फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम शुरु गरेको छ। नगरपालिकाको आयोजनामा महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत सो फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम शुरु भएको हो।
महिलाहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफीसम्बन्धी ३० दिने आधारभूत तथा क्षमता विकास तालिम दिन थालिएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो। महिला हिँसा रोक्न र घरेलु कामदारको रुपमा मात्रै महिलाहरुलाई हेर्ने दृष्टिकोण परिबर्तन गर्न यस्ताखाले तालिमले ठुलो योगदान पुर्याउने उहाँको भनाई छ। सिप सिकेर व्यवसायिक बन्न आग्रह गर्दै अहिलेको परिबेशमा सबैखाले शुभकार्यहरुमा फोटो र भिडियोको माग बढ्दै गएकोले घरमै बसेर या ब्यबसायिक रुपमा समेत यस तालिमबाट महिलाहरुले मनग्य आम्दानी गर्न सक्ने नगर उपप्रमुख चौधरीले बताउनुभयो। प्रविधिको विकाससँगै महिलाहरुलाई समयानुकूल दक्ष र आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिम आयोजना गरिएको उपप्रमुख चौधरीले बताउनुभयो ।
२३ जना सहभागीहरुलाई फोटो खिच्ने, फोटो ईडिटिङ्ग, भिडियो खिच्ने तथा ईडिटिङ्ग र ग्राफिक डिजाइन सम्बन्धि सिप सिकाउन शुरु गरिको तालिममा स्थानिय फोटो र भिडियोको काम गर्दै आएका महिला र अन्य सिप रोजगार र नयाँ व्यवसाय गर्न सक्ने सक्षमताका आधारमा छनौट गरि तालिममा सहभागी गराइएको सुचना प्रबिधी शाखाका मोहन न्यौपानेले बताउनुभयो।सो अवसरमा लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्यालले फोटो र भिडियो मार्फत महिलाहरुलाई रोजगारी र आम्दानीसंग जोड्न नगरपालिकाले गरेको प्रयासको खुलेर प्रशंशा गर्नुभयो। उहाँले यस ब्यबसायको समाजमा धेरै नै माग भएको र दक्ष जनशक्ति पाउन निकै कठिन भएको परिस्थितिमा यस्तो तालिमले ठुलो योगदान दिने बताउनुभयो।
सो अवसरमा स्वागत मन्तब्य दिंदै सृजनशील आमा समुहकी उपाध्यक्ष पारु छन्तेलले महिलाहरुलाई आत्मनिर्भर गराउन नगरपालिकाले खेलेको भूमिका सर्हानिय रहेको बताउनुभयो। कार्यक्रममा प्रशिक्षकहरु प्रेम बहादुर अर्याल, अनमोल पोख्रेल, लुम्बिनी फोटोग्राफर संघका गीता पंगेनी, कमला घर्ती, आकाश पन्थ, संचारकर्मी शारदा शाही संगै सृजनशील आमा समुहका प्रतिनिधि एबम प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
नगरका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनु पर्ने बाध्यता छ, हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यावसायिक काम गर्ने वातावरण सिर्जना गर्न यस पटक फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत तथा क्षमता विकास तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ। यस तालिमले फोटो तथा भिडियोग्राफीमै भविष्य खोज्नेहरुको लागि थोरै भए पनि सहयोग पुग्ने आशा राखेको सामाजिक बिकास शाखा प्रमुख बिनोद ज्ञवालीले बताउनुभएको छ।फोटो तथा भिडियोग्राफीसम्बन्धी तालिममा नगरपालिकामा स्थायी बसोबास गर्ने र फोटो स्टुडियो व्यवसाय गर्ने २३ जना सहभागी छन् ।
कमेन्ट गर्नुहोस्