
तिलोत्तमा ,कार्तिक २५।संचारकर्मीद्वय सुमन श्रेष्ठ र विकास गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’ को आइतबार बुटवलमा लोकार्पण गरिएको छ । बुटवलमा बसेर लामो समयदेखि संचारकर्मसँगै उद्घोषण गर्दै आएका श्रेष्ठ र गौतमको सो पुस्तक एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार खिमान्द भट्टराईले पुस्तकमा धेरै कुरा समेटिएको र त्यसलाई पढेर लागु गर्न सके धेरै कुरा सिक्न सकिने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पुस्तकमा भएका कुरा पढेर मानिसमा बोल्ने कलाको विकास गर्न सहयोग पुग्ने खालको रहेको बताउनुभयो । उहाले पुस्तक लेख्नलाई आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । लोकार्पण कार्यक्रममा बोल्दै लेखक युवराज कडेँलले पुस्तक पठन योग्य रहेको बताउँदै कुनै पनि कुरालाई उचित ढङ्गले बोल्न सकिएन् भने जस्तोसुकै महत्वपूर्ण कुरा पनि प्रभावविहीन हुने बताउनुभयो । कार्यक्रममा बोल्दै सुमन श्रेष्ठले आफूले लामो समयसम्म संचारकर्ममा रहँदा र उद्घोषण गर्दाका अनुभवलाई पुस्तकमा उतारेको बताउनुभयो । उहाले आफुले जानेका कुराहरु अरुलाई पनि बाँडनु पर्छ भनेर पुस्तक लेखेको सुनाउनुभयो ।
यस्तै अर्का लेखक विकास गौतमले पनि २०६५ देखि आफुहरुले सँगै काम गरेको बताउँदै काम गर्दाका ती अनुभवहरुका आधारमा पुस्तक लेखेको बताउनुभयो । अब आफु संचारकर्ममा केही समय सक्रिय नहुने भएपनि संचार क्षेत्रप्रतिको माया र सद्भाव भने रहिरहने उहाँको भनाई छ । कार्यक्रममा लेखक सुमन श्रेष्ठका बुबा सत्य रश्मि श्रेष्ठ र विकास गौतमका ससुरा बुबा देविराम पाण्डेको पनि सहभागिता रहेको थियो । उद्घोषण पाठशालाका लेखक श्रेष्ठ २०६० सालदेखि संचारकर्ममा सक्रिय रहँदै आउनु भएको छ । उहाँले यो विचमा बुटवलका विभिन्न रेडियोमा काम गर्नुका साथै विभिन्न कार्यक्रमहरुको उद्घोषण तथा प्रशिक्षण समेत दिदैँ आउनु भएको छ । २०६६ सालदेखि संचारकर्म सुरु गरेका विकास गौतमसँग पनि विभिन्न संचारमाध्यमा काम गरेको अनुभव छ ।कार्यक्रमको संचालन चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्