लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाँचौँ सम्पूर्ण नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक सम्पूर्ण विजयी

IMG

तिलोत्तमा । सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौलीको आयोजनामा पाँचौँ सम्पूर्ण नकआउट फुटबल प्रतियोगिता आज (मङ्सिर ८ गते) देखि सुरु भएको छ।रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्जाका १२ प्रतिष्ठित क्लब सहभागी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सम्पूर्ण युवा क्लबले फर्साटिकर एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।


खेलमा आयोजकका तर्फबाट अनुष थापा र मयङ्क मगरले एक–एक गोल गरेका थिए। फर्साटिकर एफसीले भने आयोजकका गोलकिपरले बल समात्ने क्रममा पोस्टभित्र प्रवेश गरेको भन्दै रेफ्रीले अन्तिम समयमा गोलको मान्यता दिएपछि एक गोल उपहारस्वरूप पाएको थियो। उक्त निर्णयसँगै फर्साटिकरले खेलमा एक गोल फर्काए पनि आयोजक सम्पूर्णले २–१ को जित सुरक्षित गर्‍यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक सम्पूर्ण युवा क्लबका खेलाडी तसन गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले सामाजिक सेवामा सक्रिय क्लबले खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो ।


समुद्घाटन कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेल , वडा सदस्य धनमाया पुन, समाजसेवी क्याप्टेन नरजंग गुरुङ, क्लबका पदाधिकारीलगायतको सहभागिता रहेको थियो। खेल संयोजक रवि अर्यालको सञ्चालन तथा क्लबका अध्यक्ष अबिर पुन पाइजाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ६० हजार ६ सय ६० रुपैयाँ प्राप्त गर्नेछ । मङ्सिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू क्लबकै खेलमैदान सुपौलीमा हुनेछन्। प्रतियोगिताअन्तर्गत भोलि लिस्नु युवा क्लब कोटिहवा र सौभाग्य युवा क्लब दीपनगर बुटवलबीच प्रतिस्पर्धा हुनेछ ।


कमेन्ट गर्नुहोस्