
पशुबलीलाई बुझ्नु भनेको मानव सभ्यताले हिंसा, पवित्रता र सत्ता बीचको सम्बन्धलाई कसरी बुझेको छ भनेर बुझ्नु हो। यो केवल रगतको कुरा होइन, अर्थको कुरा हो।
१. सभ्यताको आदिम तहमा बलि किन जन्मियो ?
मानवशास्त्रीहरूका अनुसार सभ्यता सुरु हुनु अघि मानिस प्रकृतिसँग डरमा बाँचेको थियो। खडेरी, महामारी, युद्ध, अनिकाललाई उसले नियन्त्रण गर्न सक्दैनथ्यो। त्यो बेला उसले एउटा मनोवैज्ञानिक सम्झौता बनायो - मेरो केही बहुमूल्य कुरा दिएँ भने, प्रकृतिले मलाई छोडिदिन्छ।
त्यही सम्झौताको नाम हो बलि।
यहाँ पशु किन ? किनभने पशु मानिसको पहिलो सम्पत्ति थियो। आफ्नो गाई, बाख्रा दिनु भनेको आफ्नो अस्तित्वको एक अंश दिनु थियो। फ्रान्सेली दार्शनिक Rene Girard भन्छन् - सभ्यताको हिंसालाई नियन्त्रण गर्न मानिसले Scapegoat Mechanism बनायो। समाज भित्रको आक्रोश, ईर्ष्या, द्वन्द्वलाई एक निर्दोष जीवमाथि खन्याएर समाजलाई केही समय शान्त बनाउने। बलि, त्यस अर्थमा, सामाजिक हिंसाको सेफ्टी भल्भ थियो।
२. दार्शनिक तहमा बलिका तीन रूपान्तरण
मानव चेतनाको विकाससँगै बलिको अर्थ पनि फेरिँदै गयो।
क) बाह्य बलि - भयको दर्शन: वैदिक कर्मकाण्डको प्रारम्भिक तह, असीरियन, मायान सभ्यता, वा हाम्रो गढीमाई र दशैंको लोक परम्परामा बलि भनेको देवतालाई खुसी पार्ने लेनदेन हो। म दिन्छु, तिमी दिन्छौ - *Do ut des*। यहाँ ईश्वर एक शक्तिशाली राजा जस्तो छ।
ख) आन्तरिकीकरण - उपनिषद र बुद्धको क्रान्ति: जब मानव चेतना भयबाट जिज्ञासामा स¥यो, प्रश्न उठ्यो - के बाहिरको पशु काट्दैमा भित्रको पशु मर्छ ?
उपनिषदले भन्यो - *यज्ञो वै आत्मा*। साँचो यज्ञ आत्मा हो। बुद्ध र महावीरले यो क्रान्तिलाई चरममा लगे। उनीहरूले भने - हिंसा बाहिर होइन, भित्रको तृष्णा, क्रोध र मोहमा छ। बाहिरको बाख्रा काटेर भित्रको लोभ काटिँदैन। त्यसपछि भारतीय सभ्यतामा दुई धार स्पष्ट भए - प्रवृत्ति मार्ग (बलि स्वीकार्ने) र निवृत्ति मार्ग (अहिंसालाई परम धर्म मान्ने)।
ग) प्रतीकात्मक बलि - तान्त्रिक र रहस्यवादी दृष्टि: तन्त्र शास्त्र, जसले नेपालको शाक्त परम्परालाई गहिरो रूपमा प्रभावित गरेको छ, त्यसले पशुबलिलाई कहिल्यै शाब्दिक रूपमा मात्र हेरेन।
तन्त्रमा भनिन्छ - बलि दिनु भनेको पशुलाई मार्नु होइन, आफू भित्रको पशुत्वलाई चढाउनु हो।
• पशु = पाशले बाँधिएको जीव। काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य - यी छ पाशले बाँधिएको मन नै पशु हो।
• बली = बल् धातुबाट - जे बलियो छ, त्यसलाई दिनु। आफ्नो अहंकारको सबैभन्दा बलियो भागलाई इष्टको अगाडि झुकाउनु।
त्यसैले कालीलाई बोकाको टाउको चढाउँदा तान्त्रिक अर्थमा भनिन्छ - मैले आफ्नो जिद्दी, कामुक, अविवेकी बोका-प्रवृत्तिलाई काटें। जब प्रतीक बुझिएन, अनुष्ठान मात्र बाँकी रह्यो। दर्शन म¥यो, कर्मकाण्ड मात्र बाँच्यो।
अब्राहमिक परम्परामा पनि यहि यात्रा छ। इब्राहिमले छोराको बलि दिन लाग्दा परमेश्वरले भेडा पठाउनुको कथा - मानिसले बुझेको पहिलो पाठ थियो कि परमेश्वरलाई मानिसको रगत चाहिँदैन, समर्पण चाहिन्छ।
३. आध्यात्मिक गहिराइ - बलि कसको ?
अध्यात्मको अन्तिम प्रश्न के हो भने - काटिने को हो ?
यदि ईश्वर साँच्चै करुणामय छ भने, उसलाई निर्दोष जीवको चित्कारले कसरी खुसी बनाउँछ ? यो प्रश्नले नै पशुबलिको आध्यात्मिक औचित्यलाई भत्काउँछ।
त्यसैले उच्च आध्यात्मिक दृष्टिले तीन कुरा भन्छ:
१. चेतनाको एकत्व: अद्वैत दृष्टिमा काट्ने, काटिने र काट्ने हतियार एउटै चेतनाका रूप हुन्। त्यसलाई काट्नु भनेको आफ्नै हात काट्नु जस्तै हो।
२. कर्मको नियम: गीताले भन्छ - *यो यज्ञमा जे अर्पण गर्छौ, त्यो भावले अर्पण गर्छौ*। भय र लोभले दिएको बलिले पुण्य होइन, भयकै बीज रोप्छ। करुणा र बोधले दिएको त्यागले मात्र मुक्ति दिन्छ।
३. सभ्यताको मापन: कुनै सभ्यता कति सभ्य छ भन्ने कुरा उसले आफूभन्दा कमजोरसँग कस्तो व्यवहार गर्छ भन्नेबाट थाहा हुन्छ। मानिसले ढुंगालाई काटेर मूर्ति बनायो, त्यो कला भयो। मानिसले अर्को मानिसलाई काट्यो, त्यो बर्बरता भयो र हामीले नरबलि बन्द गर्यौं। अब मानिसले पशुलाई कसरी हेर्छ, त्यसले हाम्रो अर्को सभ्यताको तह निर्धारण गर्छ।
निष्कर्ष - बलिको भविष्य
पशुबलि मानव सभ्यताको बाल्यकालको डायरी हो। त्यो डायरीलाई जलाउनु हुँदैन, पढ्नुपर्छ। उसले हामीलाई हामी कति डराएका थियौं, कति असहाय थियौं भन्ने सम्झाउँछ।
तर डायरीलाई जीवनभर बोकेर हिँडिरहनु पनि परिपक्वता होइन।
सभ्यताको यात्रा बाह्य बलिबाट आन्तरिक बलितिर हो।
पहिले मानिसले सोध्यो - के काट्ने ?
पछि मानिसले सोध्यो - किन काट्ने ?
अब मानिसले सोध्नुपर्ने प्रश्न हो - म भित्र के काट्न बाँकी छ ?
जबसम्म भित्रको अहंकार, हिंसा र लोभको पशु जीवित छ, बाहिर हजार पशु काट्दा पनि यज्ञ अपूर्ण नै रहन्छ।
लेखक : उत्तम निरौला, काठमाडौं ।
कमेन्ट गर्नुहोस्