
तिलोत्तमा, रूपन्देही। तिलोत्तमा साहित्य सङ्गमको २५औँ शृङ्खला शनिबार तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोल स्थित सहिद गङ्गालाल पुस्तकालयमा सम्पन्न भएको छ। तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सर्जकले आफ्ना मौलिक रचना वाचन गरेका थिए भने रामचन्द खनालद्वारा लिखित ऐतिहासिक उपन्यास ‘रानीमहल’ माथि परिचर्चा गरिएको थियो।
वरिष्ठ साहित्यकार डा. मुरारि पराजुलीको अध्यक्षता तथा प्रतिष्ठानका महासचिव लीलाधर पाण्डेयको सञ्चालनमा सम्पन्न कार्यक्रममा लक्ष्मण ज्ञवाली, लीलाधर पाण्डेय, उद्धव देवकोटा, कमला भण्डारी, रेनु भण्डारी, श्रीराम नेपाली, सुदिप पाण्डेय, उपमा पाण्डेय लगायत दर्जनौँ सर्जकहरूले गीत, कविता, मुक्तक, लघुकथा तथा अन्य विधाका आ-आफ्ना मौलिक रचना प्रस्तुत गरेका थिए। वाचित रचनामाथि गजलकार रमेश समर्थनले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। उनले प्रस्तुत रचनाका सान्दर्भिक पक्षमाथि आफ्नो धारणा राख्दै साहित्यिक सिर्जनाको परिष्कारका लागि समीक्षा अनिवार्य सर्त रहने कुरामा जोड दिए।
कार्यक्रममा अनुसन्धान मूलक ऐतिहासिक उपन्यास ‘रानीमहल’ माथि कृति परिचर्चा गरिएको थियो। उपन्यासका लेखक रामचन्द खनालले कृतिको रचनागर्भ र अन्तर्वस्तुबारे जानकारी गराएका थिए। त्यसैगरी, कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा. मुरारि पराजुलीले उपन्यासले समेटेका विषयवस्तु र त्यसले बोकेको ऐतिहासिक महत्त्वबारे प्रकाश पार्दै कृति अनुसन्धान मूलक भएको र यसले तत्कालीन समय परिवेश बुझ्न र इतिहासको पाटो केलाउन महत्वपूर्ण हुने कुरा बताउनुभयो।
तिलोत्तमा नगरपालिका सामाजिक विकास समितिका सभापति रवि सेञ्चुरीले साहित्य, कला र संस्कृतिको प्रवर्द्धनका लागि प्रतिष्ठानसँग सहकार्य गर्दै प्रतिष्ठानका गतिविधिलाई नगरपालिकाको योजनामा समेटिएको जानकारीसमेत गराएका थिए। त्यसैगरी आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले संस्थाले गरेका उल्लेखनीय कार्यहरूको प्रशंसा गर्दै अझ रचनात्मक क्रियाकलापमा जोडदिन आग्रह गर्नुभयो। कार्यक्रममा सहिद गङ्गालाल पुस्तकालयका सदस्य गोपालमणि गौतमको पनि उपस्थिति रहेको थियो।
स्थानीय भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानले मासिक रुपमा साहित्य सङ्गमका शृङ्खलाहरू आयोजना गर्दै आएको छ। सङ्गमको नियमित आयोजनाले सर्जकलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने मञ्च प्रदान गरेको र यस्ता साहित्यिक विमर्शमा सहभागी हुने र सिर्जना परिष्कार गर्ने अवसर प्रदान गर्दै आएको कुरा कवि उद्धव देवकोटाले बताउनुभयो।
कमेन्ट गर्नुहोस्