लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिक्षाको घडी सकियो-प्रकाश सायमीको पुस्तक 'स्वरसम्राट् नारायणगोपाल' बजारमा

IMG

तिलोत्तमा, १४ कार्तिक २०८१।नारायगोपालका जीवनका आरोह-अवरोहदेखि नारायणगोपालदेखि स्वरसम्राट्  नारायणगोपालसम्मका यात्राका विविध पक्षलाई समेटेर तयार पारिएको पुस्तक 'स्वरसम्राट् नारायणगोपाल' सार्वजनिक भएको छ ।चलचित्र निर्देशक, निर्माता र लेखकका रूपमा परिचित प्रकाश सायमीले लेखेको उक्त पुस्तक मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । पुस्तकको विमोचन प्राध्यापक केदारभक्त माथेमा, संगीतकार कर्म योञ्जन, गीतकार कालीप्रसाद रिजाल, संगीतकार सिके रसाइली, कलाकारहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुषाललगायतले गरेका थिए ।


पुस्तक विमोचनपछि संक्षिप्त मन्तव्यका क्रममा प्राध्यापक माथेमाले नारायणगोपालका गीतहरू जीवनकै अंग बनेको बताए । उनले अंग्रेजी, हिन्दी, नेपाली र विभिन्न भाषाका गीत सुन्ने गरे पनि बेलुका भने नेपाली गीत चाहिने बताए । उनले भने, 'ज्याज, क्लासिकल, रक सबै विधा मन पराउँछु तर सुत्ने बखतमा चाहिँ नेपाली नै गीत सुन्छु । आफूले जुन भाषामा सपना देख्छ, त्यही भाषाका गीत सुन्ने गरिन्छ ।' नारायणगोपालका बारेमा एक सिंगो पुस्तक आउनु महत्त्वपूर्ण कुरा भएको समेत उनको भनाइ थियो । तथ्यहरू जाँचेर गायककै जीवनकहानी समेटेर पुस्तक लेख्नु कठिन कार्य भएको प्राध्यापक माथेमाले बताए ।त्यस्तै गीतकार नगेन्द्र थापाले पुस्तकबारे भने, 'जब यो किताबले बोल्छ म आफैं मौन हुन्छु ।' त्यसैगरी कलाकार सरोज खनालले समेत नारायणगोपालसँगको भेटबारे संस्मरण सुनाएका थिए ।


पुस्तकका लेखक प्रकाश सायमीले नारायणगोपालको स्वरारोहण, सफलता, असफलता, दोस्ती–दुश्मनी सँगै अग्रकथनीय रूपमा प्रस्तुत गरिएको जीवनकथा अहिले पश्चिमी साहित्यमा लेखिने कोलोडोरियन कन्सेप्टमा लेखिएको बताए । उनले गायक नारायणगोपालदेखि स्वरसम्राट नारायणगोपालको अवसानसम्मको विवृत्ति एक सजीव तस्बिरका रूपमा प्रस्तुत गरिएको दाबी गरे । नारायणगोपालबारे चर्चा गर्दै लेखक सायमीले भने, 'नेपाली सङ्गीतको समग्र विकासक्रममा नेपाली स्वर्णीम युगको अतुलनीय योगदान छ, यही युगमा गायक नारायणगोपाल गायक–सङ्गीतकारका रूपमा प्रवेश गरे । उनले नेपाली सङ्गीतजगतको वायुमण्डल खल्बल्याइदिए – उनको गायकी, स्वर र शब्द छनौटले नेपाली समाज तरङ्गित भयो ।' पुस्तक काठमाण्डु पब्लिकेसनले प्रकाशित गरेको हो ।                                                 

कमेन्ट गर्नुहोस्