लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उ संगको भेट ...धेरै पछि

IMG

-माधव सापकोटा 


कालो बादलले ढाकेको धुम्म आकाशमुनि

फुटेका कुर्कुचाले धानेको

जीवनको भारिले थिचेको

मलिन मुहार तर चम्किला आँखा

आशा र आक्रोश मिसिएको

धेरै पछि भेटे उनलाई


ऊनी त्यही थिए,

जुँगाको रेखी बस्दै गर्दा

 ४६ मा प्रजातन्त्रको नारा घन्काउने

५२ पछि बन्दुक बोकेर जङ्गल पस्ने

६२/६३ पछि अब त चैनको दिन आउँछ भन्दै रमाउने

वर्ष माथि वर्ष थपिए

न त उनको चैनको दिन आयो

न त सन्तोषको स्वास फेर्न सोचेको सुखको क्षण

बाझो बसेको खेत, शुन्य हुदै गइरहेको गाउँ

लामो सुस्केरा सहित नजर घुमाएर भने,

कसैले केहि गरेनन् |


एक छिन मौन रह्यौ

दुवै जना

अनि, बल्ल सुरु भो सन्चो विसन्चोको कुरा

रोगले गालेछ,

छोरा छोरी परदेशिएछन ।


सानो धर्का बादल फाटेछ आकाशमा

पारी थुम्कामा घामको किरण पर्यो

समयको गतिले खुम्च्याएको गाला तन्काएर

मुसुक्क हासे उनी

र सम्झिए घरको काम,

दुई चार दिन बसिन्छ नि? भोलि भेटम्ला ।

चप्पलमा कुर्कुचा ठाेकाइको

पट्याक पट्याक आवाज सहित बाटो लागे


म हेरिरहे पर सम्म

येतिका दिनपछि भेट्दा पनि पहिला देशको चिन्ता

अनि बल्ल हालखबर सोधाई

सम्मान र माया एकैसाथ भरिएर आयो

मन एकतमासको भो

आकाश तर्फ हेरे ,

बादल फाटदै रहेछ .....अब त घाम लाग्ला ....।

कमेन्ट गर्नुहोस्