लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कविता : ए साइँला !

IMG

पिपल , स्वामी र तिजुले ढाकिएको ,

हरियालीले भरिएको ठूलो चहुर ,

चुँदार पानी र जैसिगाडेको मूलको पानी ,

पनाहा खोलाका असला माछा,

चिसो चिसो हावा फ्याँक्ने 

साखिनेको लेक र  रेसुङ्गाको डाँडो ,

अहिले 

तराईको उखर्मउलो गर्मीले तड्पिदै  छ रे ,

सराप लाग्यो कि साइँला !

 दस हल ग‍ोरुले मकै छर्ने बारी ,

पचास मुरी फल्ने गैरी खेत ,

आँखा अघाउने गरी देखिने खर्यान ,

पनाहा खोलाको कलकल पानी ,

लैना बकेर्ना भैंसी,

कुखुरा , बाख्राको असङख्य झुन्ड ,

अहिले

दस धुरको टहरामा गर्व गर्दै छ रे,

सराप लाग्यो कि साइँला !

बाउन गाउँको देवीको मन्दिर ,

धुर्कोटको सबैको आस्थाको कोट,

नयाँगाउँका सुन्तला र काफल ,

वस्तुका भन्डारी र गुफा ,

नादीको नेबार दाइको मिल ,

चौरासीको लटरम्म  धान फल्ने फाँट ,

अहिले

गमलामा मनी प्लान्ट हुर्केकोमा मख्ख पर्दै छ रे ,

सराप लाग्यो कि साइँला !

 बाले बनाएका घर गोठ छोडेर,

आामाले पोतेको दैलो छोडेर ,

बाआमाको  समाधिरस्थल छोडेर ,

दाजुभाइ  , छिमेकी र माटोको माया छोडेर ,

दाल  , भात र बजारमा रमाउन हिँडेकाहरुलाई ,

घामले डढाउनु पर्छ , जाडोले सेक्नु पर्छ,

भेलले बगाउनु पर्छ , मछेड र सर्पले तर्साउनु  पर्छ,

गाउँलाई  धारे हात लगाउँदै ,

 कोक र चाउचाउमा रमाउँदै गाउँ बिर्सदै गरेकाहरुलाई ,

कोभिड , ड्यङ्गु , हतास , निरास र भुटेको मकैले सम्झाउनु पर्छ,

अहिले

गाउँ सम्झेर , पुर्पुरोमा हात लगाउँदै वाक्क बन्दै छ रे ,

सराप लाग्यो कि साइँला !!


राजेन्द्र कुँवर


कमेन्ट गर्नुहोस्