
तिलोत्तमा,फागुन १३ गते २०८० / आजबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ भएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको आइतबार शुभारम्भ गरेका हुन् । जनस्वास्थ्य निरिक्षक केशव भट्टराई र प्रवेश पौडेललाई भ्याक्सिन बक्स हस्तान्तरण गरेर अभियान थालिएको हो । नगर प्रमुख खाणले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्न प्रतिवद्व रहे अनुरुप दादुराको महामारी आउन नदिन एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए ।
नगर उपप्रमुख चौधरीले यस अभियानमा नगरका १७ वडा स्वास्थ्य चौकी र निश्चित बिद्यालयहरुमा ९ महिना देखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने बताइन्। उनले नगरका करिव ५१ हजार बालबालिकालाई यो अभियानअन्तर्गत खोप लगाइने बताईन।स्वास्थ्य निरिक्षक भट्टराईका अनुसार सबै खोप केन्द्रमार्फत महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत खोप अभियान सञ्चालन हुनेछ ।तिलोत्तमाका केहि बिद्यालय छनौट गरि स्वास्थ्य केन्द्र खोप केन्द्र र बिद्यालयमा खोप लगाउन सकिने उनले बताए। आजै मात्र दादुरा र रुबेलाको ११ हजार १ सय ९३ जनालाई खोप लगाइएको जनस्वास्थ्य निरिक्षक प्रवेश पौडेलले बताए।
कमेन्ट गर्नुहोस्