लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रीलंकाका विदेशमन्त्री साब्री नेपाल आउने

tillotmacitynews - 2023 Dec 18 07:23 PM
IMG

तिलोत्तमा सिटी, २०८० पुष २ गते ।  श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन साब्री बुधबार नेपाल आउने भएका हुन् । नेपाल श्रीलंकाको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक २१ र २२ डिसेम्बरमा काठमाडौँमा हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रीलंकाका विदेशमन्त्री साब्री बैठक सकेर शुक्रबार स्वेदेश फिर्ता हुनेछन् । बैठकमा नेपाल र श्रीलंकाबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुनेछ ।


विदेशमन्त्री साब्रीको भ्रमण र आगामी बैठकका बारेमा छलफल गर्न नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् । बैठकमा कूटनीतिक एवं व्यापारिक, सांस्कृतिक, शैक्षिक सम्बन्ध कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा बैठकमा व्यापक छलफल हुनेछ ।


तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मेमा क्यान्डीमा आयोजित अन्तर्राष्ट्रिय वेसाक दिवसको समापन समारोहमा सहभागी हुन श्रीलंकाको भ्रमण गरेकी थिइन् । त्यसैगरी १८औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले नोभेम्बर २०१४ मा नेपाल भ्रमण गरेका थिए ।


यस्तै, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चौथो बिमस्टेक शिखर सम्मेलनमा २०१८ मा नेपालको भ्रमण गरेका थिए । नेपाल र श्रीलंकाबीच सन् १९७९ अप्रिलमा द्विपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो ।

कमेन्ट गर्नुहोस्