
तिलोत्तमा, साउन २७ गते २०८०। राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको थियो ।‘अनुसन्धानका क्रममा उनीहरुलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडेका छौं’, केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले भने ।
उनीहरुसँगै व्यवसायी राकेश अडुकिया पनि थुनामुक्त भएका उनले जानकारी दिए ।राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसको १९ दिनपछि यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । राजश्वको पत्रका आधारमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि पक्राउ गरेको थियो ।
व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आएलगत्तै पक्राउ परेका थिए । तर, उनको संलग्नता खुल्ने आधारहरु नदेखिएको भन्दै सीआईबीले बुझ्न मानेको थिएन ।राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पनि ‘त्यससम्बन्धी सबै विवरण सीआईबीतिर गइसकेको’ भन्दै अडुकियालाई जिम्मा लिएका थिएनन् । उनलाई पनि आवश्यक परेका बेला उपस्थित हुने गरी छाडिएको स्रोतले जनाएको छ ।
कमेन्ट गर्नुहोस्