
तिलोत्तमा सिटी । साउन २३ गते । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट पहिरो खसेपछि आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो झरेपछि पाल्पा हुंदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुंदै विभिन्न जिल्ला जाने सवारी साधनहरु बीचबाटो मै रोकिएका दोभान प्रहरी चौकीले जनाएको छ । सो ठाउंमा साउनको पहिलो सातादेखि नै पटक पटक पहिरो खस्दा सुरुङमार्गको प्रवेश बिन्दु सुरक्षित बनाउने संरचना रिब पोर्टलमा समेत क्षति पुगेको छ । पहिरोसंगै ठूला ठूला ढुंगाहरु सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
यसैगरि भालुवाङ–प्युठान–रोल्पा सडक गयरातीबाट फेरि बन्द भएको छ । प्युठानको गर्जेनीमा गयराती पहिरो खसेपछि सडक बन्द भएको हो । आज बिहानदेखि डोजर लगायतका उपकरणको प्रयोग गरी पहिरो पन्छाउन शुरु गरिएपनि निरन्तरको बर्षाले पहिरो पन्छाउन समस्या उतपन्न गराएको सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले जानकारी दिनुभयो । ठूलो पहिरोका कारण गएको बुधवारदेखि बन्द भएको सडक आईतबार बेलुकादेखि खुलेको थियो । तर पुन पहिरो जाने कम नरोकिएकाले सडक फेरि बन्द भएको हो । अप्ठेरो ठाउँमा माथिबाट ठूलोे पहिरो झरेको र तलपट्टि माडी नदी रहेका कारण पन्छाउन समय लागेको कार्यालयले जनाएको छ । प्युठान र रोल्पा आउजाउ गर्ने एकमात्र सडक बन्द हुँदा समस्या भएको छ ।
त्यस्तै कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन तयारी भइरहे पनि ठूलो पानी परिरहेकाले कठिनाइ भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । पहिरो हटाउन समय लाग्न सक्ने भएकाले यो सडक भएर सकेसम्म यात्रा नगर्न प्रहरीको अनुरोध छ । नारायणगढ–मुग्लिन सडक खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
कमेन्ट गर्नुहोस्